• २० असोज २०८१, आइतबार

दार्चुलामा ५४ प्रतिशत घरधुरीमा बिजुली पुग्यो

blog

दार्चुलाको लेकम गाउँपालिका–५ चौपातामा विस्तार भएको विद्युत् लाइन । तस्बिर: लोकेन्द्र जोशी

लोकेन्द्रप्रसाद जोशी

दार्चुला, पुस १५ गते । दार्चुलाको करिब ५४ प्रतिशत घरधुरीमा बिजुली बलेको छ । पछिल्लो केही दिन यता लेकम गाउँपालिकाको रातामाटा, सर्मोली, बिटोरा, मालिकार्जुन गाउँपालिकाको मल्बाब र नौगाडको सुत्खोला लगायत क्षेत्रमा विद्युत् चार्ज गरिएको छ । हालसम्म दार्चुलाको ५३.७० प्रतिशत घरधुरीमा बिजुली बलेको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख मोहनदेव जोशीले जानकारी दिनुभयो ।

नौ वटा स्थानीय तह रहेको दार्चुलाका आठ स्थानीय तहमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकामा हालसम्म कुनै पनि वडामा बिजुली बलेको छैन । अपिहिमालको वडा नम्बर ५ लुम्थि, सौगन्नामा लाइन विस्तार भए पनि ट्रान्सफर्मर जडान गरेर बिजुली बाल्न बाँकी रहेको प्रमुख जोशीले बताउनुभयो । नौ गाड गाउँपालिकाको पनि दल्लेख र धुलिगडा क्षेत्रमा मात्रै राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएको छ । केही घरपरिवारले लघु जलविद्युत, सोलार लगायत वैकल्पिक ऊर्जाका स्रोतहरूको व्यवस्थापन गरे पनि अधिकासं जनता अन्धकारमा बस्न बाध्य रहेका छन् ।

दार्चुलाको ४६ प्रतिशत जनता अझै पनि राष्ट्रिय प्रसारणको विद्युतकाे  पहुँच बाहिर रहेका छन् । विद्युत् अभावमा विभिन्न समस्या झेल्नुपरेको र रातीको समयमा अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको अपि हिमाल गाउँपालिकाका स्थानीय पार्वती ठेकरेले गुनासो गर्नुभयो । चमेलिया लगायत साना ठुला जलविद्युत उत्पादन गरेको दार्चुलामा अहिलेसम्म अण्डै आधा घरधुरीमा विद्युतिकरण नै हुन सकेको छैन । सरकारले चालु आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिएकोमा लक्ष्य अनुसार काम हुन सकेको छैन । विद्युत् कार्यालय र निर्माण व्यवसायी लगायत सरोकारवाला जिम्मेवार नबन्दा दार्चुलामा विद्युतिकरणमा ढिलाइ भइरहेको छ । सरोकारवालाहरूको ढिलासुस्ती र गैर जिम्मेवारीका कारण विद्युत् विस्तारमा लक्ष्यअनुसार प्रगति हुन नसकेको लेकमका स्थानीय पल्लवराज जोशीले बताउनुभयो । विद्युतिकरण भइसकेको ठाउँमा समेत बेलाबेला विद्युत् सेवा अवरुद्ध हुने गरेको स्थानीयको गुनासो छ ।

विगतमा टेन्डर भएको क्षेत्रमा विद्युतिकरणको काम भइरहेको र चालु आर्थिक वर्षमा विद्युत् वितरण केन्द्रमा विद्युतिकरणका लागि पर्याप्त बजेट नै नरहेको कार्यालय प्रमुख मोहनदेव जोशीको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाले विद्युतिकरणको काम गर्ने भनेर विद्युत् वितरण केन्द्रको बजेट कटौती गरिएको छ, उहाँले भन्नुभयो, दार्चुला विद्युतिकरण आयोजनाको समेत अहिलेसम्म निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । झन्डै एक अर्ब बजेट रहेको उक्त कार्यक्रमका लागि पटक पटक टेन्डर आह्वान हुँदा समेत टेन्डरनै नपरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । अहिले तेस्रो पटक टेन्डर आह्वान भएकोले टेन्डर स्वीकृत भए विद्युतिकरणको काम तीव्रताका साथ अगाडी बढ्ने उहाँको भनाई छ । दार्चुला विद्युतिकरण आयोजनाको काम सम्पन्न भएमा दार्चुलाको सबै घरधुरीमा बिजुली बलिसक्ने विद्युत् वितरण केन्द्र दार्चुलाका प्रमुख जोशीले बताउनुभयो ।