• २० असोज २०८१, आइतबार

शीतलहरले विद्यालय जान मान्दैनन् बालबालिका

blog

जाडो छल्न कम्बल ओढेर काममा जानुहुँदै एक स्थानीय । तस्बिर : ललिता साह

ललिता साह 

बोदेबसाईन (सप्तरी), पुस १४ गते । पुस लागेसँगै तराईमा चिसो हावा र शीतलहर सुरु भएपछि अचाक्ली जाडो भएर बालबालिका विद्यालय जान मानेका छैनन् । शीतलहरकै कारण विपन्न समुदायका सयौँ बालबालिका विद्यालय आउन नमानेको विद्यालयका शिक्षकहरूको भनाइ छ । 

सप्तरीको बोदेबर्साईन– ९ कि अभिभावक साहिरा विविका चार जना छोरी स्थानीय सरकारी विद्यालयमा पढ्छन् । मजदुरी गरेर जसोतसो सरकारी विद्यालय भए पनि छोरीहरूलाई पढाउँदै आएको उहाँले बालबच्चालाई चिसो लाग्यो भने औषधि कसरी किन्नु भन्ने चिन्ता सुनाउनुभयो । एक हप्तादेखि बाक्लो हुस्सु लागेपछि घरमा बाक्लो लुगा नभएर छोरी फतमा, तवसुम र नग्मालाई म आफै विद्यालय जानबाट रोकेको आमा साहिराले भन्नुभयो ।

सप्तरीमा शितलहरसँगै बढेको चिसोका कारण यहाँका साना बालबालिकालाई विद्यालय जान कठिनाइ भइरहेको वोदेवसाईन नगरपालिकाका नगरप्रमुख आतेषकुमार सिंहले बताउनुभयो ।  उहाँले भन्नुभयो, “अझै एक दुई दिन हेर्दैछु, मौसमको अवस्था यस्तै रह्यो भन्ने नगरको विद्यालय बिदा गर्ने अभिभावक तथा प्रधानाध्यापकसँग छलफल भइरहेको छ ।”

रुपनि– २ का वुधेश्वर आधारभूत विद्यालय जाडोमा विद्यार्थी नआउँदा विद्यालय नै बन्द गर्नुपरेका त्यहाँका एक शिक्षिकाले बताउनुभयो । सप्तरीको बोदेवसोईन, शम्भुनाथ, तिलाठी कोइलाडी, राजगढ, बलान विहुल, खड्क हुनुमाननगर, सुरुङगा लगायतका दर्जनौँ विद्यालयमा पढ्ने विपन्न परिवारका सयौ बालबालिका शीतलहरकै कारण पुस र माघमा विद्यालय छाड्नेगरेको शिक्षक सङ्घका शैलेन्द्र मंडलले बताउनभयो ।  

“चुनावका कारण यसपालि ढिलागरी अर्धवार्षिक परीक्षा सञ्चालन गरिरहेका छौँ, जतिसुकै जाडो भए पनि विद्यार्थी आउनै पर्ने बाध्यता एकातिर छ, अर्कोतिर विपन्न, दलित समुदायको बालबालिकालाई लुगाकै अभावमा कक्षामा उपस्थित हुन समस्या भएको रुपनी –१ कन्छुनरप्रताप माध्यमिक विद्यालय रायपुरका प्रधानाध्यापक परशुराम यादवले बताउनुभयो । कक्षामा दुईदेखि पाँच जना मात्र विद्यार्थी उपस्थित हुन्छन्, विद्यार्थी नआएपछि कक्षामा पढाउन मन पनि लाग्दैन दलित राष्ट्रिय आधारभूत विद्यालयका शिक्षिकाले बताउनुभयो ।