• २० असोज २०८१, आइतबार

म्याग्दे पालिका बालश्रममुक्त बनाइँदै

blog

तनहुँ समाचारदाता

तनहुँ, पुस १४ गते । तनहुँको म्याग्दे गाउँपालिकाले आफ्नो पालिकालाई बालश्रममुक्त क्षेत्र बनाउने अभियान थालनी गरेको छ । नेपालको संविधानको धारा ३९ (४)मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानीलगायत अन्य जोखिम काममा लगाउन नपाइने व्यवस्था गरिएको छ । 

अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । अभियानक्रममा निरन्तर अनुगमन, बालश्रममा पर्न सक्ने जोखिममा रहेका बालबालिकाको उद्धार, पुनस्र्थापना तथा पुनर्मिलन कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो । “बालबालिकालाई विभिन्न उद्योग, कलकारखाना, होटललगायत निर्माणकार्यमा अझै पनि श्रमिकका रूपमा राख्ने गरेको पाएकाले अन्त्य गर्न बालश्रममुक्त बनाउने अभियान थालनी गरेका हौँ, प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।

अभियानलाई सफल बनाउनका लागि बालश्रमविरुद्ध सक्रिय टोल विकास संस्था, क्लब, व्यवसायीलाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । पालिकाका अनुसार एकीकृत हरित् विकास नेपाल अभियानलाई सहयोग गरेको छ । पूरै पालिका श्रममुक्त बनाउनका लागि उद्योगको पटक–पटक अनुगमन गरी बालश्रममुक्त बनाइसकिएको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जीसीले जानकारी दिनुभयो । घर–घरमा पुगेर घरायसी कामदारसमेत हटाउने काम पूरा भइसकेको जीसीले जानकारी दिनुभयो । बालबालिकालाई बालश्रममा राख्नेका विरुद्धमा कडा रूपमा बालश्रममुक्त अभियानको थालनी गरेका छौँ, अध्यक्ष जीसीले भन्नुभयो । 

सो अभियानक्रममा वडा नं. १ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बालश्रम ठूलो चुनौती भएको बताउनुभयो । सरकारले नै बालश्रममुक्त घोषणा संवैधानिक व्यवस्था गरे पनि यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन ।