• २० असोज २०८१, आइतबार

छिप्रिदहको संरक्षण गरिँदै

blog

राजु लामिछाने 

रुकुमपूर्व, पुस १४ गते । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, रुकुमकोटमा रहेको ऐतिहासिक छिप्रिदह संरक्षणका लागि मन्दिर र पार्क निर्माणको काम अघि बढेको छ। रुकुमकोट सहरीकरण उन्मुख भएपछि बढेका विभिन्न गतिविधिका कारण छिप्रिदह सङ्कटका परेको भन्दै स्थानीय सरकारले छिप्रिदह संरक्षण तथा मन्दिर निर्माण योजना ल्याएको हो। 

प्राचीनकालमा राधा र कृष्णको विवाह भएको स्थानका रूपमा छिप्रिदहलाई लिने गरिएको सिस्ने गाउँपालिका–६ का पूर्वअध्यक्ष सुधन रेग्मीले जानकारी दिनुभयो। विवाहका बखत हवन गर्दा जलकुण्ड बनेको स्थान छिप्रिदह र त्यसको करिब ५० मिटर पर खोप्टेनीमा अग्निकुण्ड बनेको किंवदन्ती छ। रेग्मीका अनुसार शिवलिङ्गको माथि ब्रह्मपासको आकारमा उत्तरपट्टि फर्केको अवस्थामा छिप्रिदह छ। वर्षायाममा छिप्रिदह पानीले भरिएमा खोप्टेनीमा पानी निस्कने गर्छ। 

सिस्ने गाउँपालिका–६ का ८० वर्षीय तारकबहादुर शाहका अनुसार धेरै वर्षपहिला छिप्रिदहको पानी पिउन योग्य थियो। नजिकै रहेको विन्ध्यावासिनी मन्दिरमा जल चढाउन छिप्रिदहकै पानी प्रयोग गरिन्थ्यो। यसका अलावा छेउछाउमा आएर गाईभैसीले पानी पिउने गर्दथे। ऐतिहासिक र धार्मिक आस्था बोकेको छिप्रिदह सहरीकरण र बढ्दो जनसङ्ख्याका कारण सङ्कटमा पर्न थालेपछि संरक्षणको बृहत् योजना बनाएको पूर्व वडाअध्यक्ष रेग्मीले उल्लेख गर्नुभयो। रुकुमकोट बजारको ढल निकास गर्दा जम्मा भएको फोहोरले दहको सौन्दर्य हराएपछि छिप्रिदह संरक्षण तथा मन्दिर निर्माणको बृहत् योजना बनाएर काम सुरु गरिएको हो। उहाँका अनुसार यस योजनामा सिस्ने गाउँपालिका र लुम्बिनी प्रदेश सरकारले लगानी गरेको छ। विस्तृत आयोजना प्रतिवेदनअनुसार अहिले दहमा मन्दिर निर्माणको काम सुरु भएको छ। तलाउको बीचमा मन्दिर निर्माणका लागि पुल बनाउनलाई पिल्लर निर्माण गरिसकिएको छ। 


सिस्ने गाउँपालिका इन्जिनियर कर्ण केसीका अनुसार नौ रोपनी जग्गामा छिप्रिदह रहेको छ। दहमा निर्माण भएका ५० पिल्लरमाथि यो वर्ष ढलान हुनेछ। दहमाथिको पुल र मन्दिरको निर्माण स्थल यसै वर्ष ढलानपश्चात् दुईतले मन्दिर बन्नेछ। यस कार्यका लागि ७६ लाखमा ठेक्का सम्झौता भइसकेको छ। 

मन्दिरमा डाँची इँटा फिनिसिङका रूपमा प्रयोग हुनेछ भने सालको मात्र काठ प्रयोग हुनेछ। मन्दिरमा आँखीझ्याल रहनेछ भने बुट्टा कुदिएका ढोका रहनेछन्। मन्दिरको गजुर प्यागोडाशैलीको तामाको हुनेछ। दहको वरिपरि घेराबार हुनेछ, त्यसभित्र फुटपाथ हुनेछ। तालको अवलोकनका लागि गोल घेरामा काठे पुल पनि हुनेछ। जहाँबाट दह र मन्दिरको फोटो लिन सकिनेछ। यस बृहत् योजनाका लागि चार करोड ४६ लाख ५२ हजार ४८५ को लागत अनुमान गरिएको छ।