काठमाडौँ, पुस ११ गते । समग्र सहकारी क्षेत्रको एक मात्र बैङ्क राष्ट्रिय सहकारी बैङ्कमा आठ अर्ब आठ करोड १० लाख रुपियाँ तरलता पुगेको छ । बैङ्कमा तरलता १९.८६ प्रतिशतले भएको छ ।
गत कात्तिकको तुलनामा मङ्सिर महिनामा बैङ्कको तरलता १९.८६ प्रतिशतले बढोत्तरी भई आठ अर्ब आठ करोड १० लाख रुपियाँ पुगेको हो । कात्तिकमा बैङ्कसँग सात अर्ब ४८ करोड ६४ लाख (१८.३९ प्रतिशत) तरलता रहेको थियो ।
कात्तिकको तुलनामा बैङ्कको निक्षेप तथा कर्जा लगानीमा भने केही कमी आएको छ । मङ्सिर महिनामा ४० अर्ब ६८ करोड १० लाख रुपियाँ बचत सङ्कलन गरी ३४ अर्ब ७९ करोड ४८ लाख रुपियाँ कर्जा लगानी गरेको बैङ्कको विवरणमा उल्लेख छ ।
अघिल्लो महिना अर्थात् कात्तिकमा बैङ्कले ४० अर्ब ७० करोड ७९ लाख बचत सङ्कलन गरी ३५ अर्ब १० करोड २२ लाख रुपियाँ ऋण प्रवाह गरेको थियो ।
अध्यक्षमा उप्रेती निर्विरोध
राष्ट्रिय सहकारी बैङ्कको अध्यक्षमा केबी उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ । आगामी पुस १६ गते हुने बैङ्कको निर्वाचनसहितको साधारण सभाका लागि उम्मेदवारी मनोनयनमा उहाँको मात्रै मनोनयन परेपछि उप्रेती निर्विरोध हुनुभएको हो ।