• २४ असार २०८२, मङ्गलबार

महिनावारी विभेदविरुद्ध अभियान

blog

‘सुनौँ महिनावारीका कुरा’ बहस कार्यक्रमको सामूहिक तस्बिर । तस्बिर : नौरते नेपाली

सिँजा समाचारदाता

सिँजा (जुम्ला), असार २४ गते । जुम्लाको हिमा गाउँपालिकाले मर्यादित महिनावारी व्यवस्थापनको अभियान सुरु गरेको छ । महिनावारी विभेदबाट महिलाले भोग्नु परेका समस्या, शिक्षा, स्वास्थ्य, पोषणबाट वञ्चित हुनु परेको, शारीरिक, मानसिक विकासमा असर परेको अवस्थालाई ध्यानमा राख्दै हिमा गाउँपालिकाले जुम्लामै मर्यादित महिनावारी व्यवस्थापनका लागि ‘सुनौँ महिनावारी कुरा’ नामक बहस अभियान सुरु गरेको हो । 

यस अभियानले हिमालाई महिनावारी विभेदमुक्त पालिका बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । हिमा गाउँपालिकाको आयोजना तथा सुस्वा परियोजनाको प्राविधिक सहयोगमा मर्यादित महिनावारी व्यवस्थापनको अभियान सुरु भएको छ । यो अभियान हिमा गाउँपालिका–३ स्थित राहदेव मावि मोफ्लाबाट सुरु भएको हो । महिनावारी विभेदको अवस्था, न्यूनीकरणका प्रयास र चुनौती विषयक बहस गरिएको छ । बहसमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, महिला अभियन्ता लक्ष्मीकन्या बुढा, राहदेउका मूल धामी देउमले सार्की र कालिका खेतु स्वास्थ्य केन्द्रका डा. प्रेम ओली हुनुहुन्थ्यो । 

अध्यक्ष शाहीले सामाजिक विकास र महिला सशक्तीकरणको मुद्दा प्राथमिकतामा राखेर हिमाले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महिनावारी विभेद न्यूनीकरण गर्न नीति बनाउनेदेखि पालिकास्तरमा धामीझाँक्री सम्मेलनसम्म गरेका छौँ ।” अहिले गाउँ गाउँ पुगेर महिलाई महिनावारी विभेदविरुद्ध सशक्त बनाउने अभियान थालेको उहाँको भनाइ छ । महिला अभियन्ता लक्ष्मीकन्या बुढाले अझै पनि गाउँघरमा विभिन्न कारणले महिनावारी विभेद कायम रहेको बताउनुभयो । हिमाले थालेको सामाजिक कुरीतिविरुद्धको अभियानलाई सफल बनाउन सबैले हातेमाले गर्नुपर्नेमा जोड दिनुभयो । गाउँ गाउँ पुगेर गरिने ‘सुनौँ महिनावारीका कुरा’ नामक बहसले चेतना विस्तारसँगै विभेद न्यूनीकरणमा टेवा पु¥याउने विश्वास उहाँले गर्नुभयो । 

रादेउ देवताका मूल धामी देउमले सार्कीले महिनावारी हुँदा घरमा बसे, जग छोए, फलफूल छोए देवता रिसाउँछन् भन्ने गलत भ्रम छरिएको बताउनुभयो । “महिनावारी महिलाको नियमित प्रक्रिया हो । महिनावारी र देवताको कुनै सम्बन्ध छैन,” उहाँले भन्नुभयो, “महिनावारी भएका महिलाबाट म पानी खान्छु, पूजामा गइहाल्छु । केही त भएको छैन । दही दुध खाए गाई बिग्रन्छन्, फलफूल खाए बिरुवा कुहिन्छ भन्ने गलत प्रचार मात्र गरिएको हो । यसमा सत्यता छैन ।” 

डा. प्रेम ओलीले महिनावारी एक प्रक्रिया भएको र महिनावारी हुनु एक किशोरी प्रजनन रूपमा सक्षम बन्दै गएको कुरा बुझ्नुपर्ने बताउनुभयो । हिमा गाउँपालिका वास संयोजक सुमिता शाहीले मर्यादित महिनावारीको अभियान हिमाबाट सुरु भएको बताउनुभयो । कुप्रथाका रूपमा रहेको महिनावारी विभेद न्यूनीकरण गर्न सुस्वा परियोजनाले पनि थुप्रै काम गरिरहेको छ । हिमाको ‘सुनौँ महिनावारीका कुरा’ अभियानमा पनि सुस्वाले निरन्तर सहकार्य गरेर महिला सशक्तीकरणमा जोड दिने छ ।