• २४ असार २०८२, मङ्गलबार

पकेट क्षेत्रमा रोपियो टिमुर

blog

तुलसीपुर समाचारदाता

तुलसीपुर, असार २४ गते । दाङ जिल्लाको टिमुर पकेट क्षेत्रमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले पाँच वर्षदेखि जिल्लाको तीन पालिकामा पकेट क्षेत्रकै रूपमा टिमुरको बिरुवा रोपण तथा संरक्षण गर्दै आएको छ । 

दाङका पहाडी क्षेत्रमा टिमुरको व्यावसायिक खेती गर्न थालिएको छ । बगलाचुली गाउँपालिकाको सबै क्षेत्र, तुलसीपुरको ३, ४ र १९, घोराहीको १८ र १९ नं. वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा समेत रोपण गरिएको बताउनुभयो । 

विगतमा रोपण गरिएका बिरुवाले पाँचदेखि दुई सय केजीसम्म उत्पादन दिने गरेको किसान परवीर पुनले बताउनुभयो । हाल टिमुरको बजार मूल्य प्रतिकेजी पाँच सय रुपियाँ रहेको छ । 

डिभिजन वन कार्यालय दाङका रेन्जर अमित पाण्डेका अनुसार यस वर्ष पकेट क्षेत्रमा रोपण गर्नका लागि करिब १० हजार बिरुवा वितरण गरिएको छ भने आगामी वर्षका लागि करिब २४ हजार टिमुरका बिरुवा तयारी अवस्थामा राखिएका छन् । 

वार्षिक रूपमा पाँच करोडभन्दा बढी मूल्यको टिमुर दाङबाट निर्यात हुने गरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । टिमुर खेती बलौटे माटोमा आठ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा हुने गर्दछ । टिमुर चिया, तरकारीमा प्रयोग गरिने मसलासहित औषधीजन्य प्रयोजनका लागि योग्य मानिन्छ भने टिमुर मसलाका साथै आयुर्वेदिक औषधी बनाउन प्रयोग गर्ने गरिएको छ ।