• २४ असार २०८२, मङ्गलबार

नेपालमा पर्यटनको सम्भावना प्रचुर : प्रम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र पर्यटनका विविध सम्भावना रहेकाले तिनको प्रचारप्रसारमार्फत विश्वव्यापीकरण गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) को पर्यटन तथा नागरिक उड्डयन विभागले सोमबार काठमाडौँमा आयोजना गरेको ‘नेपालमा पर्यटन : अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक रूपमा सुन्दर, भौगोलिक रूपमा उर्वर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपाल धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक र जैविक विविधताले विश्वमै धनी रहेको छ । नेपालमा जस्तो सांस्कृतिक परम्परा र इतिहास कहीँ पनि छैन । हामीले यसको प्रचारप्रसार गर्न सकेका छैनौँ । अहिलेको प्रविधिमैत्री युगमा विज्ञान र प्रविधिमार्फत संसारलाई यसबारे जानकारी गराएर विश्वको ध्यानाकर्षण गराउन सकिन्छ ।”

प्रधानमन्त्री ओलीले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग जस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार गर्न आग्रह गर्नुभयो ।

“हामीले विश्वलाई भन्न सक्नु पर्छ, बेस्सरी पैसा कमाएर मात्रै हुँदैन, वास्तविक जिन्दगी जिउनु पर्छ । साँच्चैको हिमाल कस्तो हुन्छ हेर्नु पर्छ । त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनु पर्छ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरणमा सरोकारवाला पक्षले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले धर्ममा विश्वास गर्ने/नगर्ने मानिसको स्वतन्त्र अधिकार भए पनि भगवान् राम नेपालमा जन्मिएको र सीताको मरण यही भूमिका भएका जस्ता ग्रन्थहरूमा उल्लिखित कुरालाई डिजिटल सामग्री बनाएर विश्वमाझ प्रचारप्रसार गर्न डर मान्नु नपर्ने स्पष्ट गर्नुभयो । 

“रामको पवित्र जन्मभूमि नेपाल हो भनेर भन्न हामी किन सक्दैनौँ ? साँचो बोल्दा कोही रिसाउँछ जस्तो गर्छौं भने हामीले के गरिखान्छौँ ?” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विश्वामित्रले वाल्मीकिलाई हाम्रै कोशीपारि चतरागाउँमा शिक्षा दिएका हुन् । राम लक्ष्मणले अश्वमेध घोडा यही भूमिमा छाडेका हुन् । 

दशरथ यहीँका हुन् । यी कुरा मैले भनेको होइन, ग्रन्थहरूमै उल्लेख छ । यस्ता विषयवस्तुलाई प्रचार गर्दा कुनै राजनीतिक दाउपेचको विषय बनाउनु पर्दैन ।”

प्रधानमन्त्री ओलीले ज्ञानको भूमि भएको, उर्वर भूमि रहेको, विद्वान् पुर्खा भएको र पौरखी जनता भएको नेपाल विकसित नहुनुपर्ने कारण आफूले बुझ्न नसकेको बताउँदै दुनियाँमा काम गर्ने जाति भनेर चिनिएको देशका नेपालीले देश बनाउन बाह्य सहयोगको भर नपरी आफ्नै पौरख गर्न लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभागका प्रमुख भीम आचार्यले गोष्ठीमा भएका छलफललाई कार्यान्वयनका लागि सरकारसमक्ष सिफारिस गरिने जानकारी दिनुभयो ।