• २४ असार २०८२, मङ्गलबार

सडकले जोडियो हुम्ला

blog

देशमा ७५ जिल्ला रहेकोमा १० वर्षअघिको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसँगै दुई जिल्ला थपिए । नवलपरासी र रुकुममा दुई जिल्ला थपिएपछि ७७ भए । देशका ७६ जिल्ला सडक सञ्जालमा समेटिए पनि हुम्ला भने बाँकी नै थियो । सडक जोड्न यसअघि धेरै पूर्वाधार तयार भए पनि कर्णाली कोरिडोरको चुवाखोलामा पुल निर्माण हुन सकेको थिएन । पुल निर्माण हुन नसक्दा राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको कर्णाली कोरिडोर अपूरो जस्तै थियो । सो कोरिडोर अन्तर्गत खार्पुनाथ–५, चुवाखोलामा तत्काल स्थायी रूपमा मोटर चल्ने पक्की पुल बन्न सम्भव देखिएन । त्यसमा ठुलो लागत र समय लाग्न सक्छ । हुम्ला देशको सडक सञ्जालमा जोडिन आतुर हुनु स्वाभाविक हो । चाँडो सडक सञ्जालमा जोड्ने उपाय गरियो । बेलिब्रिजले जोड्न सकिने देखियो । कोरिडोर निर्माण गरिरहेको नेपाली सेनाले यही असार १० गते बेलिब्रिज निर्माण गरेपछि सडक यातायातमा हुम्ला जोडियो ।  सदरमुकाम सिमकोट सुगम भयो । यसबाट देशको पूर्वाधार विकासमा नयाँ आयाम थपियो । यो आयामलाई औपचारिक बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार चुवाखोला बेलिब्रिज उद्घाटन गर्नुभयो । प्रधानमन्त्रीले चाँडै पक्की पुल निर्माण हुने छ मात्र भन्नुभएन, रणनीतिक महत्वको यो सडकले कर्णाली प्रदेशको आर्थिक तथा सामाजिक विकासमा नयाँ युग सुरु भएको उद्घोष गर्नुभयो ।

प्रधानमन्त्रीले भन्नुभए झैँ कर्णाली कोरिडोर देशभित्र सडक सञ्जालले पछिल्लो पटक जोडिएको हुम्ला जिल्ला भन्ने भाष्यमा मात्र सीमित छैन । यो सडक अन्तरदेशीय सडक हो । यसले भारत र चीनलाई जोडेको छ । नेपालगन्जस्थित जमुनाह नाकालाई चीनसँगको नाका हिल्सा जोडेको छ । त्रिदेशीय पूर्वाधार र बजार जोड्ने यो सडकलाई कोलोपत्रे गरिँदा कर्णालीको मुहारमा चाँडो परिवर्तन हुन सक्ने छ । कोरिडोरले देशलाई नै अपार आर्थिक तथा व्यापारिक सम्भावनातर्फ अग्रसर गराएको छ । उत्तरी छिमेकी मुलुकको कैलाश मानसरोवर धार्मिक, सांस्कृतिक र पर्यटकीय विशाल धरोहर हो । यसमा नेपालीसँगै भारतीय पर्यटकको ठुलो आकर्षण छ । कर्णाली कोरिडोरले अब नेपालको सडकमार्ग हुँदै सो अवसर जुटाउन सक्ने छ । देशका कार्यकारीले यो अपार सम्भावनाको आकलन गर्नुहुँदै अब यो कोरिडोरको बाँकी भागलाई दुई लेन र कालोपत्रे गरिने जानकारी पनि दिनुभएको छ । अब यसमा देशको पूर्वाधार संयन्त्रले स्रोतसाधनको चाँडो व्यवस्थापन गर्नु पर्छ । जमुनाहदेखि हिल्सा सडक ४१० किलोमिटर लामो छ । यो सडक समृद्ध हुन सक्दा लुम्बिनी र कर्णालीसँगै सुदूरपश्चिम प्रदेशको आर्थिक विकासमा ठुलो टेवा पुग्ने छ । यो सडकले छोएका धेरै जिल्ला प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छन् । सडकले कर्णालीको सदरमुकाम सुर्खेत उपत्यकासँगै दैलेख तथा  कालीकोट जिल्लामा धेरै आर्थिक अवसरको ढोका खोलिरहेको थियो । अब यो अवसर विस्तार मुगु र हुम्लासँगै कर्णालीपारिका अछाम र बाजुरामा पनि हुने छ । अरूतिर पनि धेरै सम्भावना क्रमश : आउँदै जाने छन् ।

नेपालको आर्थिक विकासका निम्ति कृषि, पर्यटन र जलस्रोत प्रमुख सम्भावनाका क्षेत्र हुन् । पशुपालनमा समृद्ध बनाई कर्णालीलाई जैविक कृषि उत्पादनको अब्बल प्रदेश बनाउन सकिन्छ । रासायनिक मलको प्रयोगले कृषि क्षेत्रको उत्पादन बढे पनि उत्पादनमा जनसाधारणको आकर्षण छैन, उपभोग बाध्यात्मक मात्र हो । कर्णालीको जैविक कृषिले अर्गानिक उत्पादनको मोह बढाउँदै पर्यटनको विशाल सम्भावना खोल्न सक्ने छ । यस क्षेत्रको जलस्रोतमा लगानी पहुँचका निम्ति सडक मुख्य अवरोध थियो । सडक पहुँचले लगानी आकर्षण बढाउने छ । नेपालको दुर्गम र पिछडिएको भन्दै आएको कर्णाली प्रदेशले यताका वर्षमा धेरै क्षेत्रमा सुधार गर्दै लगेको छ । शिक्षा र स्वास्थ्यका क्षेत्रमा पूर्वाधार विस्तारित छन् । पशुपालनबाट अर्गानिक कृषिको प्राथमिकता अनि जलसम्पदाको बहुआयामिक प्रयोगले समृद्ध कर्णालीको सपना साकार हुन सक्ने छ । इतिहासको कालखण्डमा कर्णाली समृद्ध नै थियो । कृषि, व्यापार र पशुपालनमा त्यो समृद्धि अब आधुनिक पूर्वाधार विकाससँगै फेरि फर्काउनु परेको छ । त्यसो त देशका कतिपय हिमाली तथा पहाडी जिल्लामा सडक सञ्जाल पुगेपछि गाउँबस्ती रित्तो हुँदै जाने प्रवृत्ति पनि देखिएको छ । अवसरको खोजीमा झनै सहर पस्ने तथा बिदेसिने प्रवृत्ति छ । त्यस्तो प्रवृत्ति कर्णाली र विशेष गरी हुम्लामा नदोहोरियोस् । आयआर्जन र रोजगारीको अवसर त्यहीँ सिर्जना गर्दै समृद्धिको सपना साकार होस् ।