• २४ असार २०८२, मङ्गलबार

देवरद्वारा भाउजूको हत्या

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, असार २४ गते । मोरङको रतुवामाई नगरपालिका–६, मा अंश सम्बन्धी पुरानो झगडाले एक जनाको ज्यान लिएको छ । असार २१ गते ६० वर्षीया टीकामाया कार्की बस्नेतको आफ्नै देवर ६९ वर्षीय टङ्कबहादुर बस्नेतले हत्या गरेको प्रहरीले जनाएको छ । 

देवर टङ्कबहादुरले अंश विवादका कारण लामो समयदेखि मनभित्र दबिएको रिसले टीकामायाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले बताउनुभयो ।

केही समययता मृतकका पति गणेशबहादुर बस्नेत र उहाँका सौतेनी भाइ टङ्कबहादुरबिच पुर्ख्यौली सम्पत्तिको बाँडफाँट सम्बन्धी झगडा चर्किएको थियो । उक्त सम्पत्तिमा देवर टङ्कले एकलौटी कब्जा जमाउन खोज्नुभएको थियो । अदालतबाट दाजु गणेशले पनि अंश पाउने ठहर भएपछि टङ्क आक्रोशित बनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बारीमा घाँस काट्न गएका बेला असार २१ गते दिउँसो टीकामायाको शव फेला परेको थियो । विराटनगरको कोशी अस्पतालमा पोस्टमार्टम गरिएकाे हाे । त्यस क्रममा मृतकको घुच्चुकमा गहिरो चोट लागेको देखिएको थियो । सोही आधारमा इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारी नेतृत्वको टोलीले घटनाको अनुसन्धान अघि बढायो । 

डीएसपी चुँडालका अनुसार हँसियाको बिँड प्रहार गरेर टीकामायाको हत्या गरिएको थियो । घटनामा प्रयोग भएको हँसिया टङ्ककै घरबाट बरामद गरिएको छ । प्रहरीले सोमबार दिउँसो टङ्कलाई आफ्नै घरबाट पक्राउ गरेको छ । 

प्रहरीका अनुसार टङ्कले अंश बाँडफाँटमा असन्तुष्टि प्रकट गर्दै केही समयदेखि भाउजूलाई गालीगलौज गर्ने र कुटपिटको प्रयाससमेत गर्ने गरेको खुलेको छ। "हामीले विगतमा पनि पारिवारिक विवाद बढ्दै गएको र टीकामायालाई लक्षित गरेर टङ्क आक्रामक भएको प्रमाण सङ्कलन गरेका छौं," डीएसपी चुँडालले भन्नुभयो । 

यसैगरी घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।