• २४ असार २०८२, मङ्गलबार

त्रिशूली र नारायणी किनारका बासिन्दालाई सचेत रहन आग्रह

blog

नारायणी नदी । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असार २४ गते । जिल्ला प्रशासन कार्यालय चितवनले त्रिशूली र नारायणी नदी आसपासमा बाढीको जोखिम रहेको भन्दै सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ । 

 रसुवाकाे त्रिशूली नदीमा र नुवाकोटको माथिल्लो भूभागमा नदीको बहाब बढ्न गई सडक तथा पुलमा क्षति पुर्‍याएकाे भन्दै चितवन जिल्लाको त्रिशूली नदीको किनारका दुवैतर्फ पानीको बहाब बढ्नसक्ने चितवन प्रशासनले जनाएको छ । 

यस्तै नारायणी नदी किनारका क्षेत्रमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने, बालुवा झिक्ने जस्ता जोखिमयुक्त कार्यहरू नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामाले सूचना जारी गरी अनुरोध गर्नुभएको छ । 

यसैबिच जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालसहितको टोलीले नारायणी नदी किनारमा माइकिङ गरी सचेत रहन अनुरोध गर्नुभएको छ। उहाँले नदी किनारमा ठेला पसल राखी बसेका, साना व्यापार गर्दै आएका, नदी किनारमा दाउरा सङ्कलन गर्न लागेका, किनारमा भएका बस्तीका बासिन्दालाई सचेत रहन माइकिङ गर्नुभएको हो । 

अहिलेसम्म नारायणगढ बजार नजिक भएर बग्ने नदीमा बाढीको प्रभाव देखिएको छैन ।