• १६ भदौ २०८१, आइतबार

शक्ति बाँडफाँटका लागि छलफल तीव्र

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल

blog

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल । फाइल तस्बिर

काठमाडौं, पुस ८ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको छ। 

प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारका अनुसार सभापति देउवा र अध्यक्ष दाहालबीच शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको हो। अहिले छलफल जारी छ। 

यसअघि प्रधानमन्त्री देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बालुवाटारमा छलफल भएको थियो। 

कांग्रेस नेतृ डा‍. डिला संग्रौलाले प्रधानमन्त्री देउवा र पदाधिकारीबीच आज दिउँसो भेटघाट भएको जानकारी दिनुभयो।

संग्रौलाले भन्नुभयो, “दलको नेतामा चुनिनुभएको छ, हामी उहाँलाई भेट्न बालुवाटार पुगेका थियौं। चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी भएकाले नेतृत्व गर्नुपर्छ भन्ने छ।”

यसैगरी, कांग्रेस नेता प्रकाशमान सिंह पनि शक्ति बाँडफाँट लगायतका विषयमा छलफल गर्न शुक्रबार बिहानै माओवादी अध्यक्ष दाहाल निवास खुमलटार पुग्नुभएको थियो।

सिंहका प्रेस संयोजक यूपी लामिछानेले नेताद्वय सिंह र दाहालबीचमा सरकार गठन, शक्ति बाँडफाँट, आलोपालो नेतृत्वको विषयमा कुराकानी भएको हो। 

“आलोपालो शक्ति बाँडफाँट, सरकार गठनको विषयमा छलफल भयो”, प्रधानमन्त्री कांग्रेसको नेतृत्वमा हुनुपर्ने सिंहले प्रस्ताव गर्नुभएको लामिछानेको भनाइ छ। तर, अध्यक्ष दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी गर्नुभएको उहाँको भनाइ छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार गठनका लागि आह्वान गरिसक्नु भएको छ। राष्ट्रपतिले दिनुभएको समय सकिँनै लाग्दा नेताले छलफललाई तीव्रता दिएका हुन्।  

बिहीबार साँझ प्रधानमन्त्री देउवा, अध्यक्ष दाहालसँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमै भेटवार्ता भएको थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।