• ८ मंसिर २०८१, शनिबार

पुस्ता भेद र विश्वास (कविता)

blog

मलाई मेरो नाति

छिमेकीको घर टहरा भत्काएको देखेपछि

अङ्ग्रेजीमा सोध्छ

“यसरी डोजर लाएर किन भत्काएको बुबा ?”

म जवाफ दिन्न र नेपालीमा प्रश्न गर भन्छु

ऊ मलाई त्यसको नेपाली के हुन्छ भन्छ,

मलाई नेपाल बसेर पनि देश बिर्सन्छ कि

भन्ने डर छ,

मेरो बाले टुकुचाका रहस्यमयी कथा

भन्नुहुन्थ्यो– मैले देखिन र बिर्सें

मेरो छोराले त झन देख्दै देखेन

नाति नयाँ जागरणको पात्र भएको छ

ऊ भन्छ– टुकुचा रिइन्भेन्टेड ?

मेरो बाको विचारमा देश 

गाउँघर थियो, परिश्रम थियो

अवसर निर्माणको सुखद सपना थियो,

मेरो पालामा अर्कै बुझेँ

देश नागरिक स्वतन्त्रता थियो

उन्मुक्ति थियो,

मेरा बा र मेरै बीच

देश शक्तिका खेलाडीहरूको 

क्रीडास्थल रहेछ

छक्कापन्जा जान्नेहरूले विभेद

खडा गरेछन्,

स्वतन्त्रताको नयाँ परिभाषाको प्लेकार्ड 

लठ्याउने औषधि ख्वाएर हामीलाई थमाएछन्

हामी त्यो युगको बन्दी भएको पत्तै भएन

यो लामो सङ्क्रमणको बीचमाध

मेरो बाको निधन भयो

मैले अधुरा कथा सुनेँ

मेरो छोराले जान्ने पाएन देश ।

नयाँ सांस्कृतिक क्रान्तिको पात्र छ मेरो नाति

उसले कति र कस्तो बुझ्ने हो

टहरा भत्काएर सफा गरेपछि र

टुकुचाको टुसो पलाएपछि उसले भन्यो

“लुक्स गुड, काठमान्डु चेन्ज्ड”

मैले भनेँ, “नेपालीमा भन”

उसले भन्यो “नेपालीमा के हुन्छ बताइदेऊ”


बु†झ्न त धेरै कुरा बुझेको छ मेरो नातिले

बस् ! नेपाली संस्कारको खाँचो छ

परिवर्तित, संशोधित र परिमार्जित

म भने उसको विश्वासमा

दिन कटाइरहेछु । 

विशालनगर