• ५ जेठ २०८१, शनिबार

झापा गोल्डकपको विजेतालाई १३ लाख

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

लीलाराज खडका 

बिर्तामोड, पुस ७ गते । भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको विजेतालाई प्रथम पुरस्कार राशि १३ लाख रुपियाँ राखिएको छ । यही फागुन अन्तिम साता हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ ।

प्रतियोगिताको मिति अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सँगको छलफलपछि तय गरिने बताइएको छ । आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिताका विजेतालाई १३ लाख र उपविजेतालाई सात लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका लागि मेची रङ्गशालाको स्तरोन्नति सुरु भइसकेको छ ।

१८ वर्षअघि आयोजना भएको ‘त्रिभुवन मेमोरियल गोल्डकप’पछि फुटबलका ठूला र प्रतिष्ठित खेलहरू आयोजना हुन नसक्दा मेची रङ्गशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थित गर्न नसकिएको बेला यस प्रतियोगिताबाटै रङ्गशाला काँचुली फेर्ने आयोजक समितिका महासचिव जीवन श्रेष्ठले बताउनुभयो । 

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबहरूसहित विदेशी टोलीको सहभागिता रहने वरिष्ठ उपाध्यक्ष तथा टिम व्यवस्थापन तथा छनोट उपसमिति संयोजक आदित्य पराजुलीले जानकारी दिनुभयो प्रतियोगितामा १० टोको सहभागिता रहनेछ ।

प्रतियोगिता सञ्चालन गर्न एक करोड ५० लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फवार्ड र उत्कृष्ट प्रशिक्षकलाई २५ हजार तथा प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार पुरस्कारको प्रदान गरिनेछ ।