कोरोना कालमा घरभित्र उकुसमुकुस बनेका मूलपानीका रमेश पाण्डे परिस्थिति सामान्य बन्ना साथ इलाम भ्रमणमा निस्कनुभयो । कोरोना सुरु हुनुभन्दा अघि थाइल्यान्ड भ्रमण गर्नुभएका पाण्डेको योजना त दुबई घुम्ने थियो । तर कोरोनापछि विदेश घुम्नका लागि थपिएको झन्झटले नेपालकै पर्यटकीय स्थल घुमेको उहाँ बताउनुहुन्छ ।
कोरोनाअघि घुम्ने विषयलाई प्राथमिकतामै नराखेका कोटेश्वरका रेशम खनाल पनि अहिले घुम्न खुब रुचाउनु हुन्छ । “पहिले त्यति घुम्ने बानी थिएन । लामो समय बन्दाबन्दीमा परेर होला । अहिले त घुमन्ते भइएको छ,” खनालले सुनाउनुभयो ।
दशैँ र तिहारको बीचमा मुस्ताङ पुगेर आउनुभएका पुरानो बानेश्वरका दीपेन्द्र पौडेलको घुम्ने तालिका वार्षिक कार्यक्रममै समेटिएको छ । रारा, मनाङ, चितवन, पोखरा, इलाम, खोटाङ हलेसीलगायतका ठाउँमा पुगिसक्नुभएका पौडेल वर्षको एक पटक निष्फिक्री घुम्नुपर्ने धारणा राख्नुहुन्छ । वर्षभरको व्यावसायिक तनाव कम गर्न र शरीरमा नयाँ ऊर्जा दिनका लागि वर्षको एक पटक घुम्नैपर्नेमा उहाँको जोड छ । कोरोनापछि आन्तरिक भ्रमणमा बहार आएको छ । घुम्ने सबालमा नेपाली पनि उदार बन्दै छन् । पर्यटनविद् चेतनाथ कँडले विगत सम्झँदै भन्नुहुन्छ, “उकुसमुकुस भएको अवस्थालाई कसरी शान्त बनाउने, आनन्ददायी बनाउने भनेर नै आन्तरिक गन्तव्यमा मानिसहरू घुम्न थालेका छन् ।”
कोरोनापछि पनि रुस र युक्रेनको युद्धले विश्व अर्थतन्त्रमा पारेको प्रभाव र डेङ्गुले पनि पर्यटनमा असर त परेकै छ । तर मानिसहरू घुमिरहेका छन् । आन्तरिक पर्यटनका प्रमुख गन्तव्यमा भीडभाड छ । नयाँ नयाँ आन्तरिक गन्तव्य पनि पहिचान भइरहेका छन् । कोरोनाकालमा पर्यटनको बारेमा त सोच्न पनि सकिँदैनथ्यो । पर्यटन १० प्रतिशतसम्म झरेको रेकर्ड औँल्याउँदै पर्यटनविज्ञ कँडेल भन्नुहुन्छ, “पर्यटनकै सबालमा २०१९ उत्कृष्ट वर्ष हो । १२ लाख विदेशी पर्यटक आए । आन्तरिक पर्यटक पनि मुख्य गन्तव्य पोखरा, चितवन, लुम्बिनीको हे¥यौँ भने लाखौँ नै पुगेको अवस्था थियो ।”
यो बेला लुम्बिनीमा १६ लाख, पोखरा र चितवनमा छ लाखभन्दा बढी पर्यटक पुगेकोमा सन् २०२० र २०२१ मा ठप्पजस्तै भयो । करिब दुई वर्ष थुनिएका नेपाली बन्दाबन्दी बीचबीचमा खुल्दा पनि ह्वात्तै निस्कन थाले । नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछाने कोरोनाअघि सामान्य समयको तुलनामा अहिले १२० प्रतिशतले आन्तरिक पर्यटक बढेको बताउनुहुन्छ ।
टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल अहिले आन्तरिक रूपमा घुम्ने संस्कृतिको विकास भएको र घुम्नेहरू बढेको बताउँदै भन्नुहुन्छ, “यद्यपि यो भोक लागेको बेला सातु खाएजस्तो हो । समग्र पर्यटनका लागि यसको योगदान धेरै हुँदैन । आन्तरिक पर्यटनमा कोरोनाभन्दा अघि बुझ्ने समस्या जुन थियो त्यसमा भने व्यापक परिवर्तन आएको छ ।” कोरोनाले थलिएको पर्यटन व्यवसायलाई आन्तरिक पर्यटनले मलमपट्टी लगाएको उहाँको भनाइ छ ।
पछिल्ला वर्ष नेपालीमा घुम्ने संस्कृतिको विकास ह्वात्तै बढेको छ । दशैँको समयमा नेपाल र नेपाल बाहिर घुम्ने नेपालीको सङ्ख्या अत्यधिक हुने गरेकोमा कोरोना यता भने विदेश घुम्न जानेहरू पनि आन्तरिक गन्तव्यमा रमाउन थालेका छन् । कोरोनापछि दुबई, थाइल्यान्ड जान क्यूआर कोडदेखि अरू झन्झट भएकाले विदेशभन्दा नेपालकै विभिन्न ठाउँमा घुम्ने मोह बढेको बताउनुहुन्छ ग्रामीण विकासका अध्यापक तथा आन्तरिक राजस्व विभागका कानुन अधिकृत बालकृष्ण मिश्र । पहाडको मान्छे तराई, तराईको मान्छे पहाड, पूर्वको मान्छे पश्चिम र पश्चिमको मान्छे पूर्व सीमित स्रोतबाटै घुम्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक बढेको उहाँ सुनाउनुहुन्छ ।
दशैँ, तिहार, क्रिसमस, अङ्ग्र्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षको समयमा घुम्नेको सङ्ख्या बढी हुन्छ । पहिले सपरिवार नै घुम्न जानका लागि दशैँको समय उपयुक्त हुने बताउनेहरू अहिले मुड चलेपछि घुम्न थालेका छन् । आन्तरिक गन्तव्यमा घुम्नकै लागि नेपालीको क्रयशक्ति पहँुचभित्रै हुनु, सस्तो मूल्यमा उपलब्ध हुने आकर्षक प्याकेज, फरक संस्कृति, भेषभूषा, भौगोलिक अवस्थिति हेर्ने र नयाँ अनुभव सँगाल्ने चाहनाले घुम्ने नेपालीको सङ्ख्या बढ्दै गएको छ ।
पोखरा, चितवन, इलाममा मात्रै होइन, आन्तरिक पर्यटकको घुइँचो अहिले हिमाली क्षेत्रमा पनि हुने गरेको छ । हिमाली जिल्लामा जानका लागि पहिले बाटो सहज थिएन, हवाई मार्ग महँगो पथ्र्यो । तर अहिले हिमालका फेदसम्मै मोटर गाडी गुड्न थालेपछि त्यहाँसम्म जाने मन भएकालाई सजिलो भएको छ । यसको उदाहरण मुक्तिनाथलाई लिन सकिन्छ । मुस्ताङको मुक्तिनाथ मन्दिर गाडीमै पुग्न सकिने भएको छ । धार्मिक आस्थासँगै बाटोमा पर्ने स्थानमा रमाउँदै मुक्तिनाथ पुग्नेहरू पछिल्लो समय निकै बढेका छन् ।
यस्तै, सुदूरपश्चिमको खप्तड जाने कुरा पनि अहिले सामान्य भएको छ । काठमाडौँबाट १५ घण्टाको बसयात्रापछि धनगढी हुँदै डोटी सदरमुकाम सिलगढी र त्यहाँबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्ची बाटोमा यात्रा गर्न सकिने यो ठाउँ पनि धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै आएको छ । कर्णालीको उत्कृष्ट गन्तव्यस्थल मुगुस्थित रारा धैरै आकर्षक र आन्तरिक पर्यटक झुम्मिने ठाउँ हो । अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल अर्को उदाहरण हो ।
आन्तरिक र बाह्य पर्यटक त्यसमा पनि टे«किङ र एड्भेञ्चर मन पराउनेका लागि अन्नपूर्ण बेस क्याम्प उत्कृष्ट गन्तव्यका रूपमा मानिन्छ । अत्यधिकले मन पराएको यो रुटको पदयात्रामा जानका लागि जो सुकैको पनि मन लोभिन सक्छ । आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिएको अर्को गन्तव्य हो पूर्वी नेपालको इलाम र भेडेटार । विश्वमै प्रसिद्ध इलामको चिया र छिनछिनमै परिवर्तन भइरहने मौसमको अनुभव लिन र हरियालीमा रमाउन चाहनेहरू यो ठाउँमा झुम्मिने गरेका छन् । गुरुङ गाउँलाई पर्यटकीय दृष्टिले निर्माण गरिएको घान्द्रुकबाट अन्नपूर्ण, धौलागिरि र माछापुच्छ«ेलगायत हिमाललाई नजिकबाटै नयाल्न पाइने भएकाले यहाँ पनि आन्तरिक र बाह्य पर्यटकको भीड लाग्छ ।
धौलागिरि हिमाल हेर्दै पदयात्रा गर्नेलाई पुनहिल यात्रा पनि उपयुक्त हुन्छ । धार्मिक पर्यटकका लागि खोटाङमा रहेको हलेसी महादेव बौद्ध धर्मावलम्बीका लागि समेत चर्चित क्षेत्र हो । मुग्लिनबाट पोखरा पुग्नुअघि पर्ने बन्दीपुर पनि धेरै पर्यटकको आकर्षणको केन्द्र हो । देशकै मध्यभागमा अवस्थित सुन्दर चितवन र यहाँ रहेको राष्ट्रिय निकुञ्ज, देवघाट धामलगायतका पर्यटकीय गन्तव्य आन्तरिक र बाह्य पर्यटकका लागि सदाबहार हुन् ।
ग्रामीण विकासका अध्यापक मिश्रले भन्नुभयो, “आर्थिक क्रियाकलाप जति बढ्छ आन्तरिक पर्यटक पनि त्यति नै बढ्दै जान्छ । स्थानीय सरकार गठन भइसकेपछि चाहेर होस् या नचाहेर होस् केही न केही गतिविधि बढेकै छ ।”
पछिल्लो समय स्थानीयस्तरमा रहेका पर्यटकीय गन्तव्यको पहिचान हुँदै जानु, सञ्चारमाध्यम र सामाजिक सञ्जालले पनि आन्तरिक पर्यटक बढाउन मद्दत गरिरहेका छन् । विदेश बस्नेहरू नेपाल आएर आफू र परिवारसहित घुम्ने प्रचलन पनि उत्तिकै छ । कोभिडका कारण विदेशमै थुनिएका नेपालीहरू पनि अहिले मन बहलाउन स्वदेश घुमिरहेका छन् । स्थानीय सरकारले चाहेर होस्, नचाहेर होस् टुरिजम हब, पार्क इत्यादि बनाइरहेका छन् ।
आन्तरिक पर्यटन बाह्य पर्यटनको पूर्वाधार भएको बताउँदै पर्यटनविज्ञ कँडेल भन्नुहुन्छ, “कुनै पनि गन्तव्यमा पर्यटनको प्रारम्भ आन्तरिक पर्यटकबाट हुन्छ । गन्तव्यको परीक्षण पनि आन्तरिक पर्यटकबाट नै हुन्छ । जब आन्तरिक पर्यटकहरूले गन्तव्यको स्वाद रुचाउँदै जान्छन्, त्यसको प्रचार हुँदै जान्छ । यसपछि बाह्य पर्यटकका लागि पनि स्वागत गर्ने वातावरण बन्दै जान्छ । पूर्वाधार बन्दै जान्छ । क्षमता बढ्दै जान्छ । प्रचार बढ्छ । बजारीकरण बढ्छ । यी सबै कुराले बाह्य पर्यटकलाई पनि आकर्षित गर्न सक्छौँ । अर्को कुरा विभिन्न अन्तर्राष्ट्रिय कारणबाट विदेशी पर्यटक आउन नसक्ने स्थितिमा पनि आन्तरिक पर्यटकले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाइरहेका हुन्छन् ।” पर्यटनविद् कँडेलका अनुसार नेपालको आन्तरिक पर्यटनमा होमस्टेको ठूलो भूमिका छ । दुई÷चार जना पर्यटक जाँदैमा ठूला लगानीकर्ताहरू आवास वा होटल सञ्चालनका लागि जोखिम उठाउन चाहँदैनन् । ती कुराको परीक्षणका लागि पनि ग्रामीण क्षेत्रमा स्थानीयस्तरबाटै सञ्चालन गरेका सानातिना होटल र रेष्टुरेन्ट सञ्चालन गर्नु राम्रो हुन्छ । त्यसपछि त्यो पर्यटकीय गन्तव्यमा अन्य पर्यटकहरू आउन थालेपछि बाहिरी लगानीकर्ताहरू पनि आकर्षित हुन्छन् । फेरि होमस्टेले स्थानीय संस्कृति संरक्षण, स्थानीय वस्तु उत्पादन र खपतमा पनि निकै ठूलो योगदान पु¥याउँछ ।
पोखरा, चितवन, इलाममा मात्रै होइन, आन्तरिक पर्यटकको घुइँचो अहिले हिमाली क्षेत्रमा पनि हुने गरेको छ । हिमाली जिल्लामा जानका लागि पहिले बाटो सहज थिएन, हवाई मार्ग महँगो पथ्र्यो । तर अहिले हिमालका फेदसम्मै मोटर गाडी गुड्न थालेपछि त्यहाँसम्म जाने मन भएकालाई सजिलो भएको छ ।
विश्वका धेरै देशमा दुई दिन बिदाको प्रावधान रहेको तर्फ ध्यानाकर्षण गराउँदै उहाँ भन्नुहुन्छ, “आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने हो भने सातामा दुई दिन बिदा दिनुपर्छ । लामो अध्ययन, अनुभव, नीतिगत बहस गरेर यो प्रावधान ल्याइएको थियो । तर त्यसको विरोध गरियो ।” गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको थियो । तर एक महिना पूरा नहुँदै त्यसलाई उल्टाइयो । सरकारले त्यसबेला परीक्षणका लागि भन्दै कार्यालय समयलाई समेत बिहान साढे नौबजेदेखि साँझ साढे पाँच बजेसम्म पु¥याएको थियो । सरकारले खासगरी अन्तर्राष्ट्रिय बजारमा महँगो भइरहेको इन्धनको खपतलाई घटाउने र राष्ट्रिय ढुकुटीमा घटिरहेको विदेशी मुद्रा बचाउने प्रयासको एउटा पाटोको रूपमा उक्त निर्णय गरेको भए पनि यसले आन्तरिक पर्यटनलाई पनि सघाउने पर्यटनविज्ञ कँडेलको तर्क छ ।
नेपालमा आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागि समेत भन्दै विगत केही वर्षदेखि साताको दुई दिन बिदा दिने कुरा उठ्दै आएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसबारे एउटा समिति गठन गरेर अध्ययनसमेत गरेको थियो, जसमा सरकारी र निजी क्षेत्रले साताको दुई दिन बिदा दिए करिब ७० देखि ८० लाख मानिसले बिदा पाउने जनाउँदै त्यसको करिब १० प्रतिशत मानिस मात्रै एक दिन घुमफिरका लागि निस्कने अवस्था आयो भने करिब सातदेखि आठ लाख मानिस घर बाहिर निस्कने आकलन गरिएको थियो ।
यसैगरी नेपालीहरूमा घुमघामको संस्कृति विकास गर्नमा विद्यालय तथा कलेजहरूको पनि भूमिका देखिएको छ । विद्यालय तथा कलेजहरूले विद्यार्थीलाई आन्तरिक भ्रमण गराउँदै आएको छन् । भ्रमणबाट विद्यार्थीले किताबमा पढिरहेका इतिहास, संस्कृति र भूगोलको अवलोकन गर्न पाउने काठमाडौँको शङ्खमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीका उप–प्रधानाचार्य खगेश्वर गिरीको धारणा छ । पछिल्लो समयमा विद्यार्थीले होमस्टेबारे बढी चासो र जिज्ञासा राख्ने गरेकाले बेलाबेलामा होमस्टेमा पनि उनीहरूलाई लैजाने गरेको उहाँ बताउनुहुन्छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सरकारी कर्मचारीलाई बर्सेनि घुम्न बिदा र खर्च उपलब्ध गराउन भनेर ल्याइएको ‘देश दर्शन अभियान’ कागजमा मात्र सीमित भएको छ । आर्थिक वर्ष २०७८÷७९ मा बजेटमार्फत आन्तरिक पर्यटनलाई जीवित राख्न पर्यटन काज बिदाको अवधारणा ल्याइएको थियो । तर यो कार्यक्रम कार्यान्वयन हुन सकेन ।
कोरोनापछि अधिकांश मुलुकले आगामी दुई वर्ष आन्तरिक पर्यटनलाई जोड दिने नीति लिएसँगै नेपालले पनि यो अभियानलाई अगाडि बढाउन लागेको थियो । पर्यटन व्यवसायीहरूका सङघसङ्गठनले सरकारद्वारा प्रस्तावित ‘देश दर्शन अभियान’ कार्यान्वयनमा आए आन्तरिक पर्यटनलाई सहयोग हुने बताउँदै आएका छन् ।
विदेशी पर्यटकको पनि लर्को
बाह्य पर्यटकको कुरा गर्ने हो भने अघिल्लो महिना अर्थात् नोभेम्बरमा कोरोनाकालयताकै सर्वाधिक पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार यो वर्षको नोभेम्बरमा मात्रै ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२१ को नोभेम्बर महिनाको तुलनामा झन्डै तेब्बरले बढी हो । गत वर्ष नोभेम्बरमा २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए ।
सन् २०२२ को ११ महिनामा हवाई मार्गबाट पाँच लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका छन् । कोरोना महामारी सुरु हुनुअघि सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार पर्यटक नेपाल आएका थिए । सन् २०२२ को सुरुवातदेखि नै पर्यटक आगमन सुधारोन्मुख छ । नेपाल पर्यटन बोर्डका प्रवक्ता मणि लामिछानेका अनुसार कोरोनापछि तुलनात्मक रूपमा पर्यटकको आगमनमा सुधार हुँदै गएको छ ।
हालसालै रिलिज भएको हिन्दी चलचित्र ‘उचाइ’मा नेपालका मनोरम हिमालको दृश्य बेजोडले समेटिएको छ । नेपालका हिमालको दृश्य चलचित्रमा समेटिनुले त्यहाँको पर्यटन प्रवद्र्धनका लागि भरपुर विज्ञापन भएको छ । चलचित्रका यी दृश्य अन्तर्राष्ट्रिय रूपमा मात्रै होइन, नेपालमा पनि मन्त्रमुग्ध बनेर दर्शकले हेरे ।
बलिउडका चर्चित र सर्वाधिक रुचाइएका अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बुमन इरानीको मुख्य भूमिका रहेको यस चलचित्रले काठमाडौँदेखि नाम्चेबजार हुँदै एभरेष्ट बेसक्याम्पसम्मको यात्रालाई नै मुख्य विषयवस्तु बनाएको छ । बुढ्यौलीमा सगरमाथा आधार शिविरको यात्रामोह बोकेको यस चलचित्रको कथाले जोकोहीलाई त्यहाँ जाउँजाउँ लाग्ने बनाउँछ ।
यस्तै, नेपाली चलचित्रकै इतिहासमा प्रेमगीत ३ नामक चलचित्र पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा रिलिज भयो । हिमाली क्षेत्रमा सुटिङ गरिएको यो चलचित्रले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्राकृतिक सौन्दर्यलाई बडो राम्रो ढङ्गले प्रस्तुत ग¥यो । भारतका धेरै ठाउँमा एकसाथ यो चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर त हुँदै हो, नेपालको पर्यटन प्रवद्र्धनमा पनि यसले इँटा थप्ने काम ग¥यो । नेपाली र हिन्दी भाषामा यो चलचित्र बनाइएको छ ।