• ८ कात्तिक २०८२, शनिबार

मुस्ताङमा पर्यटक खचाखच, भरिए होटल

blog

बेनी–जोमसोम सडकखण्डअन्तर्गत मुस्ताङ प्रवेश गरेका पर्यटक सवार सवारीसाधनको लाइन । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा 
मुक्तिनाथ (मुस्ताङ), कात्तिक ८ गते ।
नेपालीको दोस्रो ठुलो चाड तिहारको मुख्य दिन भाइटिका लगाएपछि बिदा मनाउन स्वदेशी पर्यटक मुस्ताङ भ्रमणमा आउन थालेपछि यहाँका होटल खचाखच भरिएका छन् । भाइटिकाको भोलिपल्ट अत्याधिक पर्यटकले चहलपहल बढेको हो । पोखरा–बेनी–जोमसोम सडक खण्डअन्तर्गत मुस्ताङका साना तथा ठुला होटलमा थामिनसक्नु भीड छ । मोटरसाइकल तथा अन्य सवारीसाधनमा आएका आन्तरिक पर्यटकको चापका कारण मुस्ताङका पाँचवटै गाउँपालिकामा रहेका होटलहरू भरीभराउ भएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो ।

अध्यक्ष लालचनले भन्नुभयो, ‘‘एकैपटक ठुलौ सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका छन्, सडकखण्डमा सवारी साधनको ताँती छ ।’’ मुस्ताङको थासाङ गाउँपालिकाको घाँसादेखि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरसम्म रहेका साना होटलमा समेत पर्यटकको चाप रहेको छ । होटल बुक नगरी मुस्ताङ प्रवेश गरेका पर्यटकलाई व्यवस्थापनमा समेत समस्या भएकाले यात्रा अगाडि होटल बुक गर्न समेत पर्यटन व्यवसायीले अनुरोध गरेका छन् ।

‘‘अहिले मुस्ताङका होटलमा कोठा पाउन मुस्किल छ, यस क्षेत्रका सबै भरिभराउ छन्, एकदमै राम्रो व्यापार भइरहेको छ ।” जोमसोम र मुक्तिनाथमा रहेको शालिग्राम होटलका सञ्चालक रविन सुबेदीले भन्नुभयो ।

यो समयमा घुम्ने आउने नेपालीमा अधिकांस विद्यार्थी, अभिभावक, विभिन्न सङ्घसंस्थामा कार्यरत कर्मचारीरहेका छन् । पर्यटकको चापका कारण सडक तथा हवाई मार्गबाट मुस्ताङ आउने पर्यटकलाई होटल बुकिङ गरेर मात्रै आउन पर्यटन व्यवसायी सुबेदीले अनुरोध गर्नुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार मुस्ताङमा सडक सञ्जालबाट नौ हजार ८२ जना पर्यटक, हवाई मार्गबाट २९ जना, मनाङ जिल्ला हुँदै थोरङला पास गरीबाट एक सय ८३ जना प्रवेश गरेकोम सडकबाट २६ सय २८ जना र हवाई मार्गबाट ७७ जना बाहिरिएका छन् । कुल सवारीसाधन २१ सय ६८ प्रवेश गरेकोमा घाँसाबाट ६ सय ८० बाहिरिएकोमा उपल्लो मुस्ताङमा एक सय २८ सवारीसाधन प्रवेश गरी ८० बाहिरिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।

प्रनाउ लामाले भन्नुभयो, ‘‘पर्यटकको चाप बढेपछि पर्यटकलाई सहज हुने गरी समन्वय गरिरहेका छौँ, कुनै घटना हुन नदिने गरी मोबाइल यूनिट खटिएको छ ।’’ स्वदेशी पर्यटकको चहलपहल छठपर्वसम्म हुने मुस्ताङका पर्यटन ब्यवसायीको भनाइ छ । मुस्ताङमा भित्रिने स्वदेशी तथा विदेशी पर्यटकको सिमा क्षेत्र घाँसा, अर्धनिषेधित क्षेत्रको रुपमा रहेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङको प्रवेशद्वारमा रहेको चेकपोष्टमा विवरण सङ्कलन गरिन्छ भने फर्किने क्रममा लेते प्रहरी चौकीले तथ्याङ्क राख्ने गरेको छ ।

मुस्ताङमा गत असोज महिनामा ६२ हजार ५३३ जनामा स्वदेशी पर्यटक प्रवेश गरेकोमा ३४ हजार ५६४ जना पुरुष, २७ हजार नौ सय ६९ जना महिला रहेका छन् । त्यसैगरी, सार्क राष्ट्र«तर्फ तीन हजार सात सय १२ जना पुरुष, दुई हजार नौ सय ७५ जना महिला गरी कुल ६ हजार ६ सय ८७ जना रहेका छन् । त्यसैगरी तेस्रो मुलुकबाट ६ सय ८ पुरुष, ४ सय ४० महिला गरी २ हजार ४२ जना थिए ।

मुस्ताङको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटक थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र, लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमा जाने गरेका छन् । मुस्ताङमा भित्रिने अधिकांस स्वदेशी पर्यटक प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेका छन् । प्राचिन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आर्कषक पर्यटकीय गन्तब्य मुस्ताङका प्रमुख आकर्षण हुन् । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे सवारीसाधनमा जाने पर्यटक बढेका छन् । छठ लगत्तै मुस्ताङमा आन्तरिक पर्यटकको संख्या ह्वात्तै घट्छ । लेतेदेखि माथि लोमान्थाङसम्म करिब ३ सय सानाठुला होटल सञ्चालनमा छन् ।