• ७ पुस २०८१, आइतबार

दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला

blog

तस्बिर सौजन्य : सशस्त्र प्रहरी

प्रेमराज सिम्खडा

कालिकोट, मङ्सिर २७ गते । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदिमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीको गोताखोरले बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षीय उमेश गिरी र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसीबी चालक मङ्गल चुडारीको शव फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार गिरीको सोमबार र चुडालको मङ्गलबार शव फेला परेको जानकारी दिनुभयो ।

उनीसँगै दुर्घटनामा परी हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीको खोजीकार्य जारी छ । मङ्सिर २४ गते शनिबार फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना भएको थियो ।

आयोजनाको सुरुङभित्र पानी हेरी फर्कँदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली कोरिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदिमा खस्न गई दुर्घटना भएको थियो । जेसीबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जना घाइते र ३ जना बेपत्ता भएका थिए ।