• २६ जेठ २०८२, सोमबार

जम्लेपानी गढी किल्लाको मर्मत

blog

गढी किल्लाको मर्मतपछि बङ्गलाचुली गाउँपालिकालाई हस्तान्तरण गर्दै नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति प्रेमबहादुर पुन ।

लिलाधर वली

घोराही, जेठ २६ गते । दाङको बङ्गलाचुलीमा रहेको जम्लेपानी गढी किल्लाको मर्मत सम्भार गरिएको छ । बङ्गलाचुली गाउँपालिका–४ मा रहेको ऐतिहासिक जुम्लेपानी गढी किल्लाको सेनाको टोलीले मर्मत सम्भार गरेको हो ।

श्री नं. १९ बाहिनी अड्डा तुलसीपुरको अग्रसरतामा ज्वालादल घोराहीबाट खटिएको सेनाको टोलीले जुम्लेपानी गढीको सरसफाइसँगै भत्किएको पर्खाल निर्माण गरेको हो । नेपाली सेनाको ऐतिहासिक गढी र किल्लाहरूको पहिचान, संरक्षण र जगेर्ना गर्ने नीति अनुसार बङ्गलाचुली गाउँपालिकामा रहेको गढीको मर्मत सम्भार गरिएको नेपाली सेनाका प्रमुख सेनानी कुमार खड्काले जानकारी दिनुभयो । 

नेपाली सेनाका मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलका पृतनापति प्रेमबहादुर पुनले बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरलाई गढी किल्ला संरक्षणका लागि हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरणपछि बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले गढी किल्ला ऐतिहासिक क्षेत्रको संरक्षणका लागि पालिकाले भूमिका खेल्ने बताउनुभयो । ऐतिहासिक तथा पुरातात्विक हिसाबले महत्त्व बोकेको गढी किल्लाको संरक्षण गर्नुपर्ने गाउँपालिकाको दायित्व भएको भन्दै गाउँपालिका अध्यक्ष पुनले आगामी दिनमा बजेट विनियोजन गरेर संरक्षण र विकासमा लाग्ने बताउनुभएको थियो । 

ऐतिहासिक गढी किल्ला नेपाल–अंग्रेज युद्धको समयमा धानखोला–लमही–घोराही तथा कोइलाबास–लमही–घोराही भएर उत्तरतर्फ  आउने दुश्मनको फौजलाई प्रतिकार गर्न प्रयोग गरेको विश्वास गरिन्छ । उक्त ठाउँमा करिब २०० जना फौजसहित गढीमा कमान्ड सम्हालेका कर्णेल कालु आलेले यस क्षेत्रको सुरक्षा गर्न प्यूठानको ढुङ्गेगढी, रोल्पाको रुङकोटगढी–१, रुङकोटगढी–२, म्याग्जिनगढी र उमागढी समेतको डिफेन्सको सञ्जाल खडा गरेको विश्वास गरिन्छ । 

तत्कालिन कर्णेल कालु आलेले घोडाको प्रयोग गर्ने गरेको, गढीसम्म पुग्ने घोडेटो बाटो बनाएको, उहाँले छोरीको नामबाट कँवारीपानी (कुमारीपानी) र आफ्नै नामबाट कर्णेल पँधेरा बनाएको अहिले पनि रहेको बङ्गलाचुली गाउँपालिका–४ अध्यक्ष डाँसबहादुर डाँगीले बताउनुभयो । 

उहाँका अनुसार गढी किल्लामा बन्दुकले फायर गर्ने बनाइएका प्वालहरू, दक्षिण कुनामा बनाइएको थान, उत्तरतर्फ गढीको पर्खाल बाहिर बासस्थानका लागि प्रयोग गरिएका काठका पुराना खम्बाहरू, गढीमा प्रयोग भएका ढुङ्गा, सेनाले पिटी परेड खेल्न बनाएको करिब २५० मिटर लामो र ३० मिटर चौडाइको ठाउँ रहेको बताउनुभयो ।