• २६ जेठ २०८२, सोमबार

तानसेन-११ का दलित महिलालाई हिलटेक र ग्रिननेट प्रदान

blog

बिन्दु थापा 

पाल्पा, जेठ २६ गते । तानसेन नगरपालिका-११ का २० जना दलित महिलाहरूलाई कृषि ज्ञान केन्द्र पाल्पाको आर्थिक सहयोगमा तानसेन वडा नं ११ ले कृषि तथा सिँचाइका लागि हिलटेक र ग्रिननेट (२ मिटर चौडाई ५० मिटर लम्बाइ भएको जाली ) वितरण गरेको छ । 

लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम अन्तर्गत महिलाहरूको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले हिलटेक र ग्रिननेट प्रदान गरिएको तानसेन ११ का वडाध्यक्ष यादवसिंह कार्कीले जानकारी दिनुभयो । आर्थिक रूपमा दलित महिला तथा अन्य महिलालाई आत्मनिर्भर बनाउन वडा नं ११ ले विभिन्न सीपमूलक तालिमहरू तथा भैसि वितरण, बाख्रा वितरण, कुखुरा वितरण गर्दै आएको छ । आफ्नो थोरै रकम र वडाको अनुदानमा कृषिलाई प्राथमिकता दिँदै महिलालाई सक्षम बनाउने र आर्थिक आम्दानी गर्ने वातारण सिर्जना गर्ने वडाको नीति तथा योजना अन्तर्गत रहेको अध्यक्ष कार्कीको भनाइ छ ।  कृषिलाइ पहिलो प्राथमिकतामा राखेको वडाले महिलाको आय स्रोत उकास्न विभिन्न सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको छ । 

“पानी भयो भने मात्र कृषि गर्न सकिने भएकाले तरकारी बारीमा सागसब्जि लगाउन पाइने सिजन अनुसारको तरकारी तथा फलफूल लगाउन पाइने भएकोले हिलटेक प्रदान गरिएको हो । पानी प्रयाप्त नहुने भएकोले आकाशे पानी व्यवस्थापन गर्न तथा दैनिक आउने पानी सङ्कलन गर्न सहज होस भनेर हिलटेक प्रदान गरिएको कृषि ज्ञान केन्द्र पाल्पाका कार्यालय प्रमुख अरबिन्दमणि त्रिपाठीले बताउनुभयो । प्रमुख त्रिपाठीले ले भन्नुभयो, “महिलाहरू घरमै बसेर पनि मिहेनत गरे रोजगार बन्न सकिन्छ, खाली बस्नु पर्दैन, उत्पादन भएका तरकारी फलफूल बिक्रीका लागि बजार विस्तार भइरहेको छ”, “तरकारी खेति गरेर घरखर्च चलाउन सकिने मात्रै होइन राम्रो आम्दानी पनि गर्न सकिन्छ ।”

स्वदेशी उत्पादन र वातावरणमैत्री उत्पादनमा बढावा दिन आवश्यक रहेको बताउदै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न तथा कृषिबाट आर्थिक उन्नती गर्न ज्ञान केन्द्रले तरकारी तथा फलफूलको बिउ, बिरुवा प्रदान गर्ने ,खेति कसरी गर्ने भनेर तालिमहरू दिने काम गर्दै आएको छ । दलित महिला तथा महिलाका लागि वार्षिक ५ लाख बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख त्रिपाठीको भनाइ छ ।