• २६ जेठ २०८२, सोमबार

हेंवा खोलामा धमाधम जोडिँदै बेलिब्रिज

blog

मेची राजमार्गमा अवस्थित पाँचथरको हेंवा खोलामा जडान भइरहेको बेलिब्रिज । तस्बिर : राधा लुइटेल

राधा लुइटेल

फिदिम, जेठ २६ गते । मेची राजमार्गमा पर्ने हेंवा खोलामा बेलिब्रिज जडानको काम ६० प्रतिशत सम्पन्न भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई सिमाना छुट्याएर बग्ने उक्त खोलामा २०८० साल साउनमा जोडिएको बेलिब्रिज २०८१ असोज १२ गतेको बाढीले बगाएपछि यहाँ दोस्रो पटक जडान गर्नुपरेको हो ।

पहिलो पटकको पक्की पुल २०८० साल असार २ गते आएको बाढीले बगाएको थियो । उक्त पुल बगेपछि जोडिएको बेलिब्रिज पुनः बग्दा दोस्रो पटक सडक डिभिजन कार्यालय इलाम मार्फत पुनः जडानका लागि बोल पत्र आह्वान गरी काम अगाडि बढाइएको हो ।

सडक डिभिजन इलामका इन्जिनियर सीताराम गौतमका अनुसार हाल यहाँ ७० मिटर लामो बेलिब्रिज जडान भइरहेको छ । जसको ६० प्रतिशत काम सकिएको गौतमले जानकारी दिनुभयो । "काम तिब्र गतिमा भइरहेको छ, अघि रफ्तारमा अघि बढ्ने हो भने करिब एक साता भित्र सम्पन्न भएर असार लाग्दा यातायात र ढुवानीका साधन सुचारु हुन्छन्," गौतमले भन्नभयो ।

सङ्घीय सरकारको बजेटबाट ३ करोड ४९ लाख रुपियाँको लागतमा जडान भइरहेको बेलिब्रिजका लागि दोभान सुपर सौगात लाइट बेल्डर जेभी’ नामक कम्पनीले ठेक्का लिएको छ ।

बेलिब्रिजको स्ट्रक्चर बलियो बनाउन फिदिमपट्टि २ हजार ६ सय घनमिटर ग्याविन वाल निर्माण गरिएको छ । ७० मिटर लम्बाइ र १० मिटर उचाइको उक्त सिङ्गल स्पानको यो बेलिब्रिज नेपालकै सबै भन्दा लामो हो । जसको क्षमता २५ टन भार वहन रहने छ ।