• ५ जेठ २०८१, शनिबार

विश्वकप सेमिफाइनल : मेस्सी भर्सेज मोड्रिच भिडन्त

blog

क्रोएसियाका लुका मोड्रिच र अर्जेन्टिनाका स्टार लियोनल मेस्सी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर २७ गते । कतारमा जारी फिफा विश्वकपको पहिलो सेमिफाइनल खेलमा आज (मङ्गलबार) राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ ।

दोहास्थित लुसेल आइकोनिक स्टेडियममा राति १२:४५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा छन् । क्वाटरफाइनलको सनसनीपूर्ण भिडन्तमा दुवै टोलीले टाइब्रेकरमा बाजी मार्दै सेमिफाइनलमा स्थान बनाएका थिए ।

क्रोएसियाले सर्वाधिक पाँच पटक विश्वकप विजेता ब्राजिललाई टाइब्रेकरमा ४-२ गोलले स्तब्ध बनाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । यता निकै तनाव र सनसनीपूर्ण खेलमा अर्जेटिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमै ४-३ गोलले पन्छाउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । 

यस सेमिफाइनललाई अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र क्रोएसियाली नायक लुका मोड्रिचबीचको भिडन्तका रुपमा पनि लिइएको छ । पाँचौं पटक विश्वकप खेल्दै गर्नुभएका मेस्सी आफ्नो कप्तानीमा अर्जेन्टिनालाई विश्वकप दिलाएर आराम गर्ने लक्ष्यमा हुनुहुन्छ ।

यता ३ र्षीय मोड्रिचको लक्ष्य पनि क्रोएसियालाई पहिलो विश्वकपको उपाधि चखाउनेछ । दुवैलाई लक्ष्य पूरा गर्न सेमिफाइनलबाट अगाडि बढ्नुपर्ने चुनौती छ । लगातार दोस्रो पटक फाइनल पुग्ने योजनामा रहेको क्रोएसिया मेस्सीको टोलीलाई स्तब्ध बनाउन चाहन्छ । 

मोड्रिच आफ्नो अगुवाइमा क्रोएसियालाई विश्वकप दिलाएर नयाँ इतिहास रच्ने दाउमा हुनुहुन्छ । क्रोएसिया सन् २०१८ को रुस विश्वकपको फाइनलमा फ्रान्ससँग ४–२ गोलले पराजित भएको थियो । तेस्रो पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको क्रोएसिया यसअघि सन् १९९८ मा फ्रान्ससँग पराजित भएको थियो ।

क्रोएसियाले सन् २०१८ को सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । पहिलो पटक विश्वकपको स्वाद चाख्न पनि क्रोएसियालाई आज अर्जेन्टिनाको चुनौती पन्छाउनुुपर्नेछ । 

यस्तै विश्वकप उपाधि जितेर विदा लिने तयारीमा देखिनुभएका ३५ वर्षीय मेस्सी मोड्रिचको क्रोएसियालाई रोक्ने अभियानमा हुनुहुन्छ । अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। मेस्सी आफ्नो कप्तानीमा ३६ वर्षपछि आफ्नो देशलाई विश्वकप जिताउँदै डिएगो म्याराडोनाको पदचाप पछ्याउन लालायित हुनुहुन्छ ।

अर्जेन्टिनाले अहिलेसम्म विश्वकपको सेमिफाइनलमा हार खेपेको छैन । अर्जेन्टिना सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्यान्ड्सलाई हराउँदै फाइनलमा पुगेको थियो । 

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक सन् २०१८ को रुस विश्वकपमा भेट भएको थियो । समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० गोलले हराएको थियो । समग्रमा अर्जेन्टिना र क्रोएसियाबीच हालसम्म पाँचवटा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा भएको छ ।

जसमा दुवैले दुई दुई जित र एक खेलमा बराबरीको नतिजा निकालेका छन् । विगतको नतिजाले पनि आज राति यी दुई टोलीबीचको सेमिफाइनल भिडन्त थप रोचक हुने अनुमान गरिएको छ । एजेन्सी