• १२ असोज २०८१, शनिबार

निर्माण व्यवसायीलाई भरतपुर महानगरपालिकाको अल्टिमेटम

blog

चितवन समाचारदाता

चितवन, मङ्सिर २७ गते । भरतपुर महानगरपालिकाभित्र निर्माणाधीन आधा दर्जन आयोजनालाई समयमै काम पूरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । भरतपुरका मुख्य सडक खण्डहरूको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पूरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो । आइतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको भरतपुर महानगरपालिकाका इन्जिनियर साकार लामाले जानकारी दिनुुभयो । धर्मचोक–वैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब पाँच सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पूरा गरी पुसको १३ गतेभित्र अस्फाल्ट कार्य सम्पन्न गर्ने तथा शहीद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ ।

यस्तै निर्माणको अन्तिम चरणमा रहेको प्रचण्ड पथअन्तर्गत महेन्द्रचोक–रिमाल चोक सडक खण्डको अस्फाल्ट कार्य १२ दिनभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको प्रत्यक्ष सरोकारको विषयमा स्थानीय सरकारको हैसियतले महानगरको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्नुभयो । माडी ठोरी हुलाकी सडक खण्डअन्तर्गतको निर्माण कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, हुलाकी आयोजना प्रमुख धमेन्द्र झा, सडक डिभिजन भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलेको संयुक्त बैठकले निर्माण कम्पनी रमण शिवशक्ति जेभीलाई छिटो काम पूरा गर्न अल्टिमेटम दिएको छ ।