• १२ असोज २०८१, शनिबार

प्रदेश सभा अधिवेशनका लागि तयारी तीव्र

blog

मकवानपुर समाचारदाता

हेटौँडा, मङ्सिर २७ गते । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनपछि गठन हुने बागमती प्रदेश सभाको दोस्रो कार्यकालको अधिवेशनका लागि आन्तरिक तयारी तीव्र बनाइएको छ ।

बागमती प्रदेश सभा सचिवालयले प्रदेश सभा गठनपछि दोस्रो प्रदेश सभाको दोस्रो कार्यकालको अधिवेशनका आवश्यक भौतिक संरचनाको निर्माण, प्रदेश सभा सचिवालयको व्यवस्थापन, प्रदेश सभा भवन र हलको रङरोगन गरी प्रदेश सभा भवनलाई चिटिक्क बनाउनेलगायतका तयारी गरिरहेको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले सोमबार प्रदेश सभा सचिवालयमा पत्रकार सम्मेलन गरी प्रदेश सभाको दोस्रो कार्यकालको अधिवेशनका लागि प्रशासनिक, भौतिकलगायतका तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँले प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको स्वागतका लागि तयारी गरिएको भन्दै प्रदेश सभाको नयाँ भवन निर्माणले अझै पूर्णता नपाएकाले पुरानै भवनमा अधिवेशन आह्वान गर्न पुरानो हलमा रङरोगन, सभामुख, उपसभामुख र संसदीय दलको कार्यालयहरू व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।

निर्वाचन आयोगले राष्ट्रपति र प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामको प्रतिवेदन बुझाएसँगै प्रदेश सभा गठनले प्रक्रिया पूरा गर्ने छ । राजनीतिक दलहरूले निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा निर्वाचन आयोगले निर्धारण गरेअनुसार प्रदेश सभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरूको नामावली दलहरुले निर्वाचन आयोगमा सिफारिस गरिसकेका छन् । 

संविधानमा भएको व्यवस्थाअनुसार बागमती प्रदेश सभामा ६६ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ४४ जना समानुपातिक प्रणालीबाट गरी जम्मा ११० सदस्य निर्वाचित हुनेछन् ।