• १२ असोज २०८१, शनिबार

डेढ दर्जन करणीका घटना

blog

ताप्लेजुङ समाचारदाता 

ताप्लेजुङ, मङ्सिर २५ गते । ताप्लेजुङमा एक वर्षको अवधिमा करिब डेढ दर्जन करणीसम्बन्धी घटना भएका छन्। जबरजस्ती करणी, बाल यौन दुव्र्यबहार, बालबालिका करणी (बालबिज्याइँ) करणीसम्बन्धी घटना भएका हुन्। 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा सन् २०२२ भित्र करणीसहित २० वटा मानव अधिकारसँग सम्बन्धित घटना भएका छन्। करणीसम्बन्धी घटना सबैभन्दा बढी भएको इन्सेक ताप्लेजुङका प्रतिनिधि देवराज गुरुङले जानकारी दिनुभयो। 

गरुङका अनुसार सबैभन्दा बढी करणीसम्बन्धी (बलात्कार) घटना ११ वटा छन्। यस्तै बाल यौन दुव्र्यवहारका दुई, करणी तथा मानव बेचबिखन एक र बाल बिज्याइँ (बालबालिका करणी) जस्ता घटना भएका छन्। स्वास्थ्यकर्मी तथा ज्येष्ठ नागरिकमाथि कुटपिटसम्बन्धी एक/एक, हत्यासम्बन्धी तीन र बहुविवाहसम्बन्धी एउटा घटना भएको उहाँले जानकारी दिनुभयो। 

इन्सेक प्रतिनिधि गुरुङका अनुसार अपरिचित व्यक्तिसहित परिवारकै सदस्य र चिनजानका आफन्तबाट महिला तथा बालिकामाथि करणी भएको पाइएको छ। करणी घटनामा चार वर्षीया नाबालिकादेखि ७७ वर्षीया ज्येष्ठ नागरिकसम्म पीडित भएको उहाँले जानकारी दिनुभयो। बालिकाहरू सामूहिक बलात्कार र यौन व्यवसायमा समेत संलग्न भएको पाइएको छ। मानव अधिकार उल्लङ्घनसम्बन्धी विभिन्न २० वटा घटनामा २१ जना पीडित भएका छन्। जिल्ला अदालतको तथ्याङ्कलाई हेर्दा लैङ्गिक हिंसासम्बन्धी घटना बढ्दै गएको पाइएको पनि इन्सेक प्रतिनिधि गुरुङले जानकारी दिनुभयो। 

जिल्ला न्यायाधीश निर्मला योङ्यालाई उधृत गर्दै गुरुङले जिल्लामा सम्बन्ध विच्छेदका घटना बढेको र सो घटना हिंसासँग सम्बन्धित भएको बताउनुभयो। चालू आर्थिक वर्षमा हालसम्म ८९ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन्। घरमा पति तथा परिवारको हिंसा खेप्न नसकेर सम्बन्ध विच्छेद गर्नुपरेको मुद्दा दर्ता गर्न पुग्ने महिलाहरूले बताउने गरेका छन्।