• १३ साउन २०८१, आइतबार

यातायात सञ्चालन भएपछि सहज

blog

सांकेतिक तस्बिर ।

जनार्जन खत्री 

सर्लाही, मङ्सिर २५ गते । सर्लाहीको चुरेभेगमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयलाई बजार आउन सहज भएको छ। सडक नपुगेको चुरेभेगमा खोलाको बगरबाट बस, बोलेरो, टेम्पु, मोटरसाइकलजस्ता सवारी नियमित सञ्चालन हुन थालेका हुन्। 

अब हिउँदभर खोलाको बगरबाट यातायात सञ्चालन हुने स्थानीयले बताएका छन्। यहाँको लखन्देही, बाँके र कालिन्जोर खोलाबाट सञ्चालन हुने यातायातका साधन सिन्धुलीको मरिण र हरिपुरगढी गाउँपालिकाको विभिन्न ठाउँसम्म पुग्ने गरेका छन्। ईश्वरपुर नगरपालिका–१२, पीपलदमारका बलिमराज वाइबाले बाँके खोलामा पानी घटेपछि बस र बोलेरो सञ्चालन भइरहेको जानकारी दिनुभयो। वाइबाका अनुसार लालबन्दी बजारबाट पीपलदमार हुँदै सिन्धुलीसम्म नै बस चल्न थालेको हो। लालबन्दी नगरपालिका–१५, का वडाध्यक्ष गोरखबहादुर बलले सिन्धुलीको मरिणसम्म बस र बोलेरो सञ्चालन हुन थालेपछि स्थानीयलाई किनमेल तथा औषधि उपचारका लागि बजार झर्न सहज भएको जानकारी दिनुभयो। 

कालिन्जोर खोलाबाट लालबन्दी बजारदेखि परवानीपुर, शिर कालिन्जोर हुँदै यातायात सञ्चालन भएको छ। यातायात सञ्चालन भएपछि स्थानीयले गाउँमा उत्पादन भएको मकै, कोदोलगायतका अन्नबाली, कुखुरा, खसीबोका बजारसम्म ल्याएर बेच्न पाएका छन्। लालबन्दी नगरपालिका–१४, नारायण खोलाका स्थानीय उत्तरकुमार गुर्मछानले हिउँदभर खोलाको बगरबाट गाडी चल्ने बताउनुभएको छ। गाडी चल्न थालेपछि बजार आउन घण्टौँ हिँड्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीयले बताएका छन्। हरिवन नगरपालिका–१ का वडाध्यक्ष टमबहादुर घिसिङले हरिवन बजारबाट क्यानखोला हुँदै सिन्धुलीसम्म बोलेरोलगायतका सवारी सञ्चालन हुन थालेका बताउनुभयो। भौगोलिक रूपमा विकट रहेका जिल्लाको चुरेभेगमा वर्षायाम सुरु भएपछि भने खोलामा बाढी आउँदा करिब चार महिना यातायातका साधन ठप्प हुने गरेका छन्।