• १९ असार २०८१, बुधबार

सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), मङ्सिर २४ गते । कलिलै उमेरमा आमा बनेकी कैलालीको घोडाघोडी नगरपालिका १ का माया (परिवर्तित नाम) अहिले २५ वर्षको हुनुभयो । उहाँका अहिले चारजना छोरी छन् भने पाँचपटक गर्भपतन गराइसक्नुभएको छ । 

माया २०६७ सालमा १४ वर्षको उमेरमा करणीमा परी गर्भ रहेकोे ७ महिनापछि परिवारले थाहा पाउनुभयो । समाजको डर र इज्जतको कारण परिवारले मायालाई उहाँभन्दा झण्डै तीनगुणा बढी उमेरका करणी गर्ने पुरुषसँगै विवाह गरिदिएको थियो । 

पहिला नै सौताका तीन छोरी दुईछारा रहेको बताउने मायाले आफूले पनि एउटा छोरा बनाउने सोच आएको सुनाउनुभयो । 

छोराकै आसमा मायाले अहिले सम्म पाँचवटा गर्भपतन गराइसक्नुभएको छ । एउटा प्राईभेट अस्पतालमा पैसा तिरेर गर्भपतन गराएको र अर्को सरकारीमा निःशुल्क गर्भपतन गराएको बताउने मायाले शुरुमा मेडिकलबाट औषधि सेवन गरेर घरमै गर्भपतन गराउँदा समस्या आएको बताउनुभयो । 


यस्तै, कैलाली लम्कीचुहा ४ का रविना चौधरीको पहिलो सन्तान जन्मेको केही समयमै असुरक्षित गर्भ रहन गयो । श्रीमानले मेडिकलबाट ल्याएको औषधि सेवन गरेर उहाँले एकमहिनाको गर्भपतन गराएको अनुभव सुनाउनुभयो ।

दोस्रो बच्चा भएपछि पनि पुनः असुरक्षित गर्भ रहन गएपछि उहाँ अस्पतालमा पुगेर स्वास्थ्य कर्मिको सुझावअनुसार मेसिनको प्रयोगले गर्भपतन गराएको अनुभव सुनाउनुभयो ।

माया र रविनाको अनुभव जस्तै असुरक्षित गर्भपतनले ज्यान जोखिममा पर्नसक्ने धेरै महिलाले बुझिसकेका छन् । सुरक्षित गर्भपतन मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट गराउनेको  सङ्ख्या बढ्दै गएको छ ।

घोडाघोडी अस्पताल सुखडका स्त्रीरोग विशेषज्ञ मनुका तामाङले आफूकहाँ १२ हप्ता भन्दा कमका गर्भ गर्भपतन गराउन आउने गरेको बताउनुभयो । 

सरकारले तोकेको मान्यता प्राप्त कम्पनीको औषधि सेवन र औजारको प्रयोगबाट महिनामा ९/१० जनाले सुरक्षित गर्भपतन गराउने गरेको तामाङले जानकारी दिनुभयो । 

पहिला भन्दा अहिले अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेको सङ्ख्या बढेको उहाँले उल्लेख गर्नुभयो ।

त्यसैगरी, सुदुरपश्चिम प्रदेशको सबैभन्दा बढी सेवा सुविधा मानिएको सरकारी अस्पताल सेती प्रादेशिक अस्पतालमा समेत सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । 


अस्पतालका सुरक्षित गर्भपतन ईन्चार्ज भगवती बडालले गत वर्ष १२ सय बढीले सुरक्षित गर्भपतन गराएको र साउन यता सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या आठ सयको हाराहारीमा पुगेको बताउनुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीको विगत दुई वर्षको तथ्याङ्क हेर्ने हो भने यो सङ्ख्या बढेको देखिन्छ । 

स्वास्थ्य कार्यायका तथ्याङ्क सहायक ईश्वरी भट्टकाअनुसार आर्थिक वर्ष २०७७/०७८ मा एकहजार ९५१ जनाले औषधि सेवन तथा शल्यक्रियामार्फत सुरक्षित गर्भपतन गराएका छन् भने २०७८/०७९ मा दुईहजार ६२९ जनाले सुरक्षित गर्भपतन गराएका छन् । 

यो तथ्याङ्कमा तुलनात्मक अध्ययन गर्ने हो भने गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको सङ्ख्या बढेको देखिन्छ । ०७७/०७८ मा १८७ जना २० वर्षमुनिका किशोरीले सुरक्षित गर्भपतन गराएका छन् भने ०७८/०७९ मा २१७ जना किशोरीले सुरक्षित गर्भपतन गराएको उल्लेख छ । 

सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरुले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गर्छन् । कैलालीमा शल्यक्रियाभन्दा औषधिमार्फत गर्भपतन गराउनेको सङ्ख्या उच्च छ ।


नेपालमा ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार १९ प्रतिशत महिला अनिच्छित गर्भ हुने गरेको छ ।

नेपालमा सन् २०१५–२०१६ मा अनुमानित एक लाख ६० हजार पाँच सय ६६ प्याकेट गर्भपतनका औषधि खपत भएको देखिन्छ, जसमध्ये ७ प्रतिशत गर्भपतनका औषधि नेपालमा दर्ता नभएका औषधि छन् ।

कैलाली स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले कलिलो उमेरमा शारीरिक सम्बन्ध राख्ने तथा परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्न झन्झन्ट मान्ने कारण पनि गर्भपतनको सङ्ख्यामा उल्लेख्य वृद्धि आएको बताउनुहुन्छ ।


सन् २००२ मा नेपालमा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको हो । अधिवक्ता सर्मिला श्रेष्ठले कानुनअनुसार महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भ, जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्ता सम्मको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा पर्ने भएमा, शारीरिक तथा मानसिक रुपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको रायले जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न पाइने व्यवस्था भएको उल्लेख गर्नुभयो ।