‘जीवनको अभिनन्दन’ प्रा.डा. ज्ञानू पाण्डेको नवीनतम निबन्ध सङ्ग्रह हो । एघारवटा निबन्धका सङ्ग्रहले व्यापक विषय उठाएका छन् । निबन्धकार पाण्डेमा आध्यात्मिक भनौँ वा छैटौँ इन्द्रियको क्षितिज उघारिएको देखिन्छ । विषयगत वा वस्तुगत प्रस्तुतिमा हार्दिकता र बौद्धिकताको रङ भरेर निबन्धकार पाण्डेले निबन्ध बुन्नुभएको छ ।
सङ्ग्रहका आत्मपरक तथा वस्तुपरक ११ वटा निबन्धले भिन्नभिन्न स्वाद दिएका छन् । तर कतिपय निबन्धको सामल फरक, स्वाद समानजस्ता लाग्छन् । ‘निर्बन्ध नायिकाको महाप्रस्थानमा’ निबन्धकार पाण्डले ‘नेपाली साहित्यकी एक अमर तारा’ डा. वानीरा गिरिप्रति श्रद्धाको स्वाद व्यक्त गर्नुभएको छ । करिब यस्तै स्वाद ‘त्यहाँ म केवल ‘छोरी’ मात्र बाँकी रहन्छु’ मा आफ्ना पिता (आबुवा) वरिष्ठ साहित्यकार पोषण पाण्डेप्रति दर्शाउनु भएको छ । यी दुवै निबन्धमा वस्तुगत वर्णन मात्र छैनन्, चिन्तन र दर्शनको छाप पाइन्छ । हार्दिकतालाई प्रधानता दिनसक्नु र हार्दिकताभित्र बौद्धिकता पस्कन सक्नु पाण्डेको लेखन दक्षता हो भन्ने यी निबन्धले पुष्टि गरेका छन् ।
भगवान्, प्रेम, विश्वास र आस्थालाई पाण्डेले जीवन÷जगत् बुझ्ने साधन बनाउनु भएको छ । अथवा ‘जीवनको अभिनन्दनमा’ मानिसले वरण गर्ने मृत्यु, आत्महत्या वा स्वैच्छिक मृत्युवरणले निबन्धकारलाई कति उद्वेलित बनाएको छ भन्ने स्पष्ट हुन्छ । आमपाठकका साझा विषयलाई सरल भाषामा प्रस्तुत गरेर परोक्ष निष्कर्ष दिनसक्नु पाण्डेको लेखन विशेषता हो । यी निबन्धमा यी विशेषताका अतिरिक्त पाठकसँगको सामीप्य कायम गर्नु, पाठकले पाण्डेका विचार र विषयलाई आफ्नै भोगाइ सम्झन सक्नुले निबन्धको वैशिष्ट्य झल्कन्छ ।
फ्रान्सका साहित्यकार मिसेल दे मोन्तेन (१५३३–१५९२) ले निबन्ध विधा स्थापित गर्ने क्रममा भनेका थिए, ‘म नै मेरा निबन्धको विषय हो ।’ ठिक यसैगरी निबन्धकार पाण्डेका हर निबन्धका विषय उहाँ र उहाँकै परिवेश छन् । अर्थात् पाण्डे नै उहाँको निबन्धको विषय हो । तर सयमअनुसार साहित्यिक विधाका परिभाषा, पहिचान, प्रयोग र प्रचलन भिन्नभिन्न हुन्छन् भन्ने सत्यलाई पाण्डेका निबन्धले स्वीकार गरेका छन् र निबन्धका विषय निबन्धकार स्वयं नै भए पनि निबन्धका क्षेत्र भने पाठकसम्म फैलिएका छन् । निबन्धमा पाठक र परिवेशलाई सजीव उतार्न सक्नु निबन्धकार पाण्डेको अर्को विशेषता हो । जस्तो आँबुखैरेनी (तनहुँको) चित्रलाई निबन्धमा चित्रित गर्नु, झ्याउँकीरीका आवाजमा अनुभूति खोज्न सक्नु र त्यहाँको परिवेशमा सामीप्य साँच्न सक्नु लेखन संवेदनशीलताको पक्ष हो, जो यी सबै निबन्धमा पाइन्छ ।
निबन्ध लेखनमा पनि जटिलताबाट सरलतातिर भन्ने मान्यता स्थापित हुँदैछ । जस्तो कि तमसोमा ज्योर्तिगमय । कुनै दिन कोरा वैचारिक विश्लेषण, शब्द बम, क्लिष्ट शैली, वेदान्तबमनलाई वैद्धिक पुट भनेर निबन्धकारहरू पाठकसँग टाढाको सम्बन्धमा रहन रुचाउँथे । अर्थात्, भनिन्थ्यो– ‘वाह कस्ता नबुझिने शब्दमा लेखिएका कति राम्रा कविता वा निबन्ध ।’ आज अवस्था त्यस्तो रहेन, निबन्धमा हार्दिकता कि बौद्धिकता, कवितामा सन्देश कि सौन्दर्य, कथामा दर्शन कि दर्पण भन्ने मान्यता आएका छन् । आज पाठकसँग टाढा रहेर कुनै पनि सर्जक बाँच्न सक्दैन । ऊ जटिलबाट सरलतिर जानैपर्छ । चाहे शब्दमा चाहे शैलीमा । ऊ पाठकको आँतमा छिर्नै पर्छ । यसो गर्नका लागि मोन्तेनले भनेजस्तो आफ्ना निबन्धको विषय आफैँ हुनुपर्छ तर ती विषय पाठकका समीप हुनुपर्छ । पाठकका अनुभव, अनुभूति र आग्रहलाई आफ्नो विषय बनाउन सक्नुपर्छ । यस्तो कि आपूm भनेको पाठक, पाठक भनेको आफू । निबन्धकार पाण्डेमा हुर्किएको लेखकीय पैतृजन्य संस्कारले आफूलाई कतै पाठक बनाउनु भएको छ कतै लेखक । यस्तो लाग्छ उहाँ पाठक र लेखकको फ्युजन हो । मिश्रण हो । घर्षण हो । यी निबन्धमा यिनै फ्युजन, मिश्रण र घर्षणले पाठकसँग सामीप्य सम्बन्ध बसालेका छन् र निबन्धलाई आफ्नो अनुभूति तथा अनुभव ठान्न सक्छन् पाठकले । यो निबन्ध सङ्ग्रह त्यसैले हार्दिकताको सङ्ग्रह हो । पाठकसँगको हार्दिकता अर्थात् सामीप्यता ।
अर्को पाटो, यो सङ्ग्रह वैद्धिकताको विकीर्ण दृष्टि पनि हो । भगवान्लाई विश्वासमा खोज्नु लेखक पाण्डेको वैद्धिक चिन्तन र दर्शन हो । सोध्नुहुन्छ ‘के मान्छेको पत्यारबिना भगवान्को सत्व प्रमाणित हुनसक्छ यस दुनियाँमा ?’ यो प्रश्नमा मात्र जिज्ञासा छैन, उत्तर र विश्वास छ । अठोट छ मानौँ कि चिन्तन र दर्शन छ । यसरी पाण्डेले आफूभित्र रहेका दुई विशाल पर्वत– हार्दिकता र बौद्धिकतालाई एउटा पुलले जोड्नु भएको छ, जीवनको अभिनन्दन नामक पुलले । यसर्थ, पाण्डेको यो निबन्ध सङ्ग्रह हार्दिकता र बौद्धिकता अर्थात् सौन्दर्य र सन्देश जोड्ने पुल बनेको छ, पाण्डे त्यो पुल बाँध्ने इन्जिनियर ।