• १ असार २०८२, आइतबार

झोलुङ्गे पुलले ल्यायो खुसी

blog

गुल्मीको रुरुक्षेत्र–१ को थोर्गा र २ को ग्वादी जोड्ने झोलुङ्गे पुल । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल 

रेसुङ्गा (गुल्मी), असार १ गते । गुल्मीको ग्वादी र थोर्गा गाउँ देख्दा मात्रै नजिक थिए । तालखोलाका कारण आउजाउ गर्न डेढ घण्टा लाग्थ्यो । खोला र जङ्गलका कारण निकै सास्ती खेपे स्थानीयले । २०४२ सालमा ऋषिबहादुर विक र नेउसी विक बाबुछोरीलाई तालखोलाले बगाउँदा मृत्यु भयो ।

गोरु र मान्छे बगाउने भएकाले खेत रोपेर साँझ फर्किने थोर्गेलीलाई तालखोला तरेर घर पुग्ने वा नपुग्ने टुङ्गो हुन्थेन । तत्कालीन अवस्थाको साक्षी ५५ वर्षीय विष्णु भण्डारी हुनुहुन्छ । खेत रोपेर फर्किंदा २०५६ सालमा आँखैअगाडि तालखोलाले गोरु बगाएको थियो । अहिले झोलुङ्गे पुल बनेपछि विगतका सबै दुःख बिर्साएको भण्डारीले सुनाउनुभयो ।

ग्वादी गाउँका कैयन् पुस्ताले पढ्न डेढ घण्टा खोला र जङ्गल झेलेर रिडी पुगे । थोर्गाका १४/१५ घरले टाढा भएकै कारण उर्वर ग्वादी चौरफाँटका खेतमा खेती गर्न छाडिसकेका थिए । अहिले लुम्बिनी प्रदेश सरकार भौतिक योजना मन्त्रालयले रुरुक्षेत्र गाउँपालिका–१ को थोर्गा र २ को ग्वादी जोड्ने ३४२ मिटर लामो पुल निर्माण गरिदिएको छ, जसले दुई गाउँसँगै उत्पादन, बजार, यात्रा र भावना पनि जोडिदियो । 

रुरुक्षेत्र गाउँपालिका–१, थोर्गाका ५३ वर्षीय महेन्द्रबहादुर सोमैको ग्वादी फाँटमा तीन रोपनी खेत छ । घरबाट खोला झरेर उक्लिन डेढ घण्टा लाग्ने भएकाले वर्षमा बल्लतल्ल एक बाली लगाउनुहुन्थ्यो । पुल बनेपछि तीन बाली लगाउन थाल्नुभएका सोमैले खुसीले झोलुङ्गे पुलका लागि जग्गासमेत दिनुभयो । उहाँले भन्नुभयो, “विगतका सास्ती सपना बनाउने झोलुङ्गे पुल थोर्गा र ग्वादीको गौरवको योजना हो । बाँझो खेतमा अहिले कृषि क्रान्तिसँगै वृद्ध र विद्यार्थीका लागि ठुलो राहत भएको छ ।”

पुल र विद्यार्थी नहुँदा थोर्गाको कालीगण्डकी प्राविलाई रिडीमा समायोजन गर्ने स्थिति बन्यो । नजिकैको ग्वादीमा धेरै विद्यार्थी भए पनि पुल नहुँदा पहुँच थिएन, जसले विद्यालय खोज्न ग्वादीका विद्यार्थी डेढ दुई घण्टा हिँड्नुपथ्र्यो । रुरुक्षेत्र गाउँपालिका–२, ग्वादीका ६६ वर्षीय त्रिलोचन ज्ञवालीले अहिले ग्वादीका विद्यार्थी पुल तर्नेबित्तिकै बस चढ्न पाउने स्थिति बनेको बताउनुभयो । उहाँ छोरा, नाति हिँडेरै विद्यालय पुग्ने भएकाले जङ्गल र खोलाका कारण आधा मन गराएर बस्ने बाबाआमा पुलका कारण निकै खुसी भएको बताउनुहुन्छ । ग्वादीमा २८ घर दलित समुदाय बस्छन् । रुरु संस्कृत पाठशालाको कक्षा ९ मा अध्ययनरत राज विक बिहान र बेलुका हिँड्दा करिब तीन घण्टा बित्ने भएकाले पढाइको वातावरण नहुने अवस्थाको अन्त्य भएकोमा खुसी व्यक्त गर्नुहुन्छ । 

स्थानीय युवा चिरञ्जीवी पौडेलले ग्वादीका दलित समुदायलाई काम खोज्दै थोर्गा पस्नसमेत पुलले सहज बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले थोर्गाको घरमा पाकेको चिया तातै ग्वादीको खेतमा पुग्छ । पुलले बजार र विद्यालय पुग्न निकै सहज तथा कृषिकर्ममा निकै उत्साह थपेको छ ।” रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीका अनुसार पुल लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत एक करोड ८६ लाख रुपियाँमा रामकृष्ण एसआरजेभीले निर्माण गरेको हो । ज्ञवालीले १३७ मिटर उचाइमा निर्माण गरिएको पुल दुई गाउँको यात्रासँगै पर्यटकीय हिसाबले समेत महत्वपूर्ण रहेको बताउनुभयो । 

अहिले पनि पक्की पुल र कालोपत्रे सडकभन्दा झोलुङ्गे पुल बन्दा औधी खुसी हुने गाउँहरू छन् । सानो योजनाले पनि ठुलो प्रभाव पार्ने भएकाले स्थानीयको माग सम्बोधनमा स्थानीय सरकारले सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छन् । यो सङ्घीयताको सबैभन्दा ठुलो उपलब्धि हो । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले स्थानीय तहपछि रुरुक्षेत्रमा मात्रै छम्दी, तालखोला र गोलपोखरी–बेँसीकाचौर गरेर तीन पुल निर्माण भएको बताउनुभयो ।