• १३ साउन २०८१, आइतबार

भजन ‘दाफा पुकार’ सुरु

blog

ललितपुर, मङ्सिर २४ गते । उपत्यकामा प्रचलित ऐतिहासिक, सांस्कृतिक महत्वको दाफा भजन परम्पराको संवद्र्धन गर्ने उद्देश्यले आयोजित ‘दाफा पुकार’ तेस्रो संस्करण शुक्रबारदेखि सुरु भएको छ । 

फोक लोकद्वारा विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दाफा पुकार कार्यक्रमको स्रुवात कीर्तिपुर पाँगाको बालकुमारी दाफा खलःको प्रस्तुतिबाट गरिएको थियो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महानगरभित्रका मूर्त/अमूर्त सम्पदाको संरक्षणका लागि महानगरले काम गरिरहेको बताउनुभयो ।

उहाँले भूकम्पपछि महानगरभित्रका जीर्ण आगछेंहरू, गुठीघर र मठ, मन्दिर, विहारको पुनर्निर्माण गरिएको र विभिन्न टोलमा रहेका परम्परागत नृत्य, बाजा खलःका गुरुलाई आर्थिक रकमसहितको सम्मान गरेर सम्बन्धित समुदायको गुरु, शिष्य परम्परालाई कायम राख्न सहयोग दिँदै आएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पनि भक्तपुरले शिक्षाको विकासमा जोड दिँदै आफ्नो क्षेत्रमा परम्परागत रूपमै निरन्तरता दिँदै आएको गीत, नृत्य, भजनलगायतका अमूर्त सम्पदाको संरक्षणका लागि काम गरिरहेको बताउनुभयो । पाटन, ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष मोहन व्यञ्जनकारले व्यावहारिक रूपमा गुरु परम्पराका आधारमा चलिरहेको दाफा भजनलाई संरक्षण गर्न पाठ्यक्रम तयार गरी पढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कला बचाउन कलाकार पनि बाँच्नुपर्ने सैद्धान्तिक पक्षलाई पनि ध्यानमा राख्दै दाफा संस्कृतिलाई पर्यटनसँग जोड्दै व्यावसायिक पनि बनाउनेतर्फ पनि स्थानीय सरकारले नीतिसहित अगाडि बढ्नुपर्ने बताउनुभयो ।   

परम्परागत रूपमै संरक्षण हुँदै आएको दाफा संस्कृतिबारे अध्ययन/अनुसन्धान गर्नुभएका नुतनघर शर्माले दाफा भजन परम्परागत रूपमा चल्दै आएको शब्द, ताल, बाजा र रागमा थोरै पनि परिवर्तन नगरी गुरुले सिकाएअनुसार नै स्पष्ट गाउनुपर्ने बाध्यात्मक चलन रहेको बताउनुभयो ।

उहाँले दाफा भजन देव, देवी, जनजीवन, ऋतुअनुसार गाइन्छ भने नेपाल भाषा, मैथिली, अवधी, हिन्दी, बङ्गाली र नेपाली भाषामा लेखिएका सबै ताल, राग मिलेको भजन गुरु, शिष्य परम्पराअनुसार उपत्यकाका विभिन्न टोलमा गाउने ऐतिहासिक भजन परम्परा रहेको बताउनुभयो । 

पाटन, खपिन्छे दाफा खलःका ८४ वर्षीय गुरु अष्टलाल महर्जनले दाफा भजनमा नयाँ पुस्ताको आकर्षण नभएको बताउनुभयो ।

कार्यक्रम व्यवस्थापक पुष्पा पलाञ्चोकेले पाटन सङ्ग्रहालय, भण्डारखाल बगैँचामा साताव्यापी रूपमा सञ्चालन हुने दाफा प्रस्तुति कार्यक्रममा ऐतिहासिक दाफा साङ्गीतिक परम्पराको अभ्यास, दर्शन, कला, सिर्जना, संवद्र्धनका लागि सङ्घीय र स्थानीय नीति, सङ्गीतको पुनर्जागरणका विषयमा बृहत् छलफल हुने जानकारी दिनुभयो ।