• ११ असोज २०८१, शुक्रबार

विपन्न परिवारको घर बनाउने नेता भण्डारीको घोषणा

blog

अमरराज नहर्की

तनहुँ, मङ्सिर २३ गते। आर्थिक अवस्था कमजोर भएका भिमाद नगरपालिका–१ जिलाङका नरबहादुर थापालाई नेपाली कांग्रेस नेता तथा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी घर बनाइदिने घोषणा गर्नुभएको छ। 

थापा परिवारले छाना जीर्ण भएकोले घाम पानी छेक्नका लागि त्रिपालको सहारा बसेको देखेपछि पूर्वमन्त्रीसमेत रहेका भण्डारीले सो घोषणा गर्नुभएको हो। ‘त्रिपालले घाम पानी राम्रोसँग नछेक्दा कुनै पनि बेला घर ढल्ने अवस्थामा पुगेकोले छाना छाउने र बस्न योग्य घर बनाउनु पर्ने कर्तव्य ठानेर घोषणा गरेको हुँ’, नेता भण्डारीले भन्नुभयो, ‘मतदातालाई धन्यवाद दिन जाने क्रममा छानो बिनाको घर देखेँ।’ 

आर्थिक अभावले गर्दा घरको छानो छाउन नपाएको जानकारी पाए लगत्तै नेता भण्डारीले थापा परिवारलाई बासको व्यवस्था गरिदिने घोषणा गर्नुभएको हो। 

सुरक्षित घरमा बस्न पाउने भएपछि थापा परिवारमा खुसी छाएको नेपाली कांग्रेस तनहुँका सदस्य डम्बर अधिकारीले जानकारी दिनुभयो। ‘हाम्रो दुःख कसैले देखेको थिएन। भेट्न आउने र दुःखमा साथ दिने कुरा सुन्दा मन हर्षित भएको छ’, थापाले भन्नुभयो। 

जीर्ण घरमा बस्दै आउनु भएका भिमादका थापा परिवारको घर अवलोकन गर्ने क्रममा कांग्रेस नेता शंकर भण्डारी। तस्बिर : अमरराज नहर्की