• ११ असोज २०८१, शुक्रबार

तारा एयरको जहाज मर्मत गर्न प्राविधिक टोली सिमकोटमा

blog

राजन रावत

हुम्ला, मङ्सिर २२ गते । बुधवार मध्यान्न चीलसँग ठोकिएर क्षति पुगेको तारा एयरको जहाजको मर्मतका लागि प्राविधिक टोली  सिमकोट आई पुगेको छ ।  क्षति पुगेको भागको मर्मत कार्य समेत प्राविधिक टोली सुरु गरेको हो ।

तारा एयर सिमकोटका सहायक इन्चार्ज नुर्वु लामाले प्राविधिक जनक तामाङको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार बिहानै सिमकोट आई पुगेको बताउनुभयो । उहाँले टोली सिमकोट आई पुगे लगत्तै जहाजको नोजभित्र रहेको चीललाई निकाल्ने कार्य भएको र अब मर्मत सुरु हुने बताउनुभयो । प्राविधिक टोलीले जति सक्दो चाँडो क्षति पुगेको जहाजको मर्मत कार्य हुने जनाएको छ ।  

बुधवार सर्केगार्ड र अदानचुली गाउँपालिकाको सिमानामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चीलसँग ठोक्किँदा जहाजको अग्र भागमा क्षति भएको थियो । नेपालगन्जदेखि हुम्लाको सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर आई रहेको जहाजमा चील ठोकिएको थियो । तारा एयरको नाईन एन–एकेल कलसाईन भएको जहाज बुधवार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा अवतरण गर्न दुई मिनेट बाँकी रहँदा जहाज चीलसँग ठोक्किएको हो ।