• ११ असोज २०८१, शुक्रबार

कोठे सभामा सीमित महिला हिंसा अभियान

blog

रजनी योगी

सुर्खेत, मङ्सिर २२ गते । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसमा हरेक वर्ष झन्डै दुई साता हिंसाविरुद्धका गतिविधि गरेर निरन्तरता दिइँदै आएको छ तर यस्ता कार्यक्रम न लक्षित वर्गमा पुग्न सकेका छन् न त अभियानको प्रभावकारिता नै देखिएको छ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सरकारी तथा गैरसरकारी निकायबाट विविध कार्यक्रम गरिएको छ। अभियान चलिरहेकै बेला मङ्गलबार दिउँसो पन्चपुरी नगरपालिका–३, तोक्माका अमरबहादुर आलेमगरले श्रीमती मीना आलेमगरको हत्या गरी टाउको लिएर भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको थियो। प्लास्टिकमा श्रीमतीको टाउको बोकेर भाग्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। आलेमगरलाई पन्चपुरी नगरपालिका–२, पलैंटेबाट पक्राउ गरेको इप्रका इन्चार्ज प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो।

हिंसाको कहरमा रहेका महिला यस्ता खालका कार्यक्रम र अभियानबारे अनभिज्ञ रहेको वीरेन्द्रनगर नगरपालिका–५ की माया बस्यालले बताउनुभयो। जसका लागि अभियान सञ्चालन गर्नुपर्ने हो उनीहरूलाई नै थाहा नभएको उहाँको भनाइ छ। महिला हिंसाविरुद्धको अभियानअन्तर्गत मङ्गलबार वीरेन्द्रनगरमा आयोजित एक गैरसरकारी संस्थाको कार्यक्रममा सहभागी उहाँले हिंसाविरुद्धका अभियानले लक्षित वर्गका महिलाको सहभागिता सुनिश्चित गर्न नसक्ने बताउनुभयो।

सोही कार्यक्रममा सहभागी वीरेन्द्रनगर नगरपालिका–७ की खिमा सोती मगरले ग्रामीण भेगका महिलाको अवस्था दर्दनाक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “लैङ्गिक हिंसाविरुद्धको कार्यक्रममा जाँदा धेरैजसो सुकिलामुकिलाकै उपस्थित देखिन्छ। वीरेन्द्रनगरका होटल र सभाहलमा केही मानिस जम्मा भएर छलफल गर्दैमा हिंसा न्यूनीकरण हुन्छ भन्ने लाग्दैन।” अधिकांश घरेलु हिंसाबाट पीडित महिला कानुनी सचेतनाको अभावमा न्यायका लागि अघि बढ्न नसकेको उहाँको भनाइ थियो। 

आर्थिक रूपमा बलियो र आत्मनिर्भर नहुँदा महिलामाथि त्यही निहुँमा हिंसा हुने गरेको महिला सशक्तीकरण मञ्चका कार्यक्रम संयोजक लक्ष्मी जीसीले बताउनुभयो। उहाँका अनुसार बेरोजगार बसिरहेका महिलाले परिवारबाटै विभिन्न हिंसा खेप्न बाध्य छन्। हिंसा अन्त्यका लागि महिलालाई आयआर्जनका गतिविधिमा जोड्ने र सचेतनामूलक कार्यक्रमलक्षित वर्गसम्म लैजानुपर्ने जीसीले बताउनुभयो।

महिला आर्थिक रूपमा सशक्त भए पारिवारिक र सामाजिक रूपमा पनि बलियो हुने उहाँको तर्क छ। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल महिलालाई स्वरोजागर बनाउन आर्थिक उपाजर्नका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुन्छ। उहाँले आगामी दिनमा सरकारी र गैरसरकारी संस्थाका महिलालक्षित कार्यक्रम तथा अभियानलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने योजना रहेको पनि बताउनुभयो।

उसो त आत्मनिर्भर भएका र शिक्षित परिवारकै महिलाले पनि विभिन्न बहानामा श्रीमान् र परिवारका सदस्यबाट हिंसा खेपिरहेका छन्। सहरी क्षेत्रकै शिक्षित समाजमा पनि महिला हिंसाका थुप्रै घटना हुने गरेको गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विक बताउनुहुन्छ।