• २६ जेठ २०८२, सोमबार

लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक

blog

लुम्बिनी केबलकार । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, जेठ २६ गते । दशकौं सुनसान तिनाउको वसन्तपुर डाँडामा केबलकारको माथिल्लो स्टेशन र कामाख्यादेवी मन्दिरसहित पर्यटकीय पूर्वाधार बनेपछि पर्यटक, हिन्दु धर्मावलम्बी र भारतीय पर्यटकको आकर्षण बढेको छ ।

लुम्बिनी केबलकार लिमिटेड औपचारिकरुपमा सञ्चालनमा आएको दुई वर्ष पूरा गरी तेस्रो वर्ष प्रवेश गरेको गरेको हो । २०८० जेठ १५ देखि व्यवसायिक सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो । बुटवल–३ बमघाटमा तल्लो स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो स्टेशन रहेको केबलकारले बुटवल र वसन्तपुरलाई जोडेको छ । सञ्चालनमा आएको दुई वर्षमा साढे तीन लाख बढी पर्यटकले केबलकार यात्रा गरेका कम्पनीले जनाएको छ । कुल पर्यटकमध्ये भारतीय पर्यटकको सङ्ख्या अघिल्लो वर्षको तुलनामा तेब्बरले वृद्धि भएको छ ।

केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैंजूले आर्थिक वर्ष २०८०/८१ मा ८ प्रतिशत भारतीय आएकामा चालु आर्थिक वर्षमा बढेर २१ प्रतिशत पुगेको जानकारी दिनुभयो । दुई वर्षमा झण्डै ५० हजार भारतीय पर्यटक आएको कम्पनीले जनाएको छ । तेस्रो मुलुकका पर्यटक सङ्ख्या भने एक प्रतिशतभन्दा कम छ ।

दशकौंसम्म सुनसान पाल्पाको वसन्तपुर केबलकार सञ्चालनमा आएपछि गुल्जार भएको छ । समुन्द्री सतहबाट करिव एक हजार मिटर उचाईमा रहेको डाँडोमा लुम्बिनी केबलकारको माथिल्लो स्टेशनसहित प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर, जीपलाइन, स्काई साइक्लिङ, ज्वायन्ट स्वीङ (आधुनिक पिङ), बाल उद्यान, रेष्टुरा, सेमिनार हललगायत पर्यटकीय संरचना बनेकाले दुई वर्षमै सुनसान डाँडो आकर्षक पर्यटकीय गन्तव्य बनेको हो ।

वसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको मन्दिर र सय वर्षदेखि पूजाआजा हुँदै आएको दुर्गा माताको मन्दिरलाई पुनर्निर्माण गरी नयाँ बनाइएको छ । यी दुई मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशिष्ट आकर्षण बनेका छन् । कामाख्या देवीको दर्शनले मनोकामना पूरा हुने र जीवनमा आइपर्ने सङ्कट मोचन हुने धार्मिक विश्वासले नेपाल र भारतका विभिन्न शहरबाट भक्तजनहरु उल्लेख्य सङ्ख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेल बताउनुहुन्छ ।

केबलकारले जन्मदिनमा निःशुल्क यात्रा हरेक महिनाको १ गते साँझ महाआरती अफर, ५० जनाभन्दा बढी समूहमा आउनेलाई विशेष छुट अफरलगायत विभिन्न संघ, संस्थासँग टिकट दरमा छुटको सम्झौता गरी बजार प्रवर्धन गरिरहेको अपरेसन म्यानेजर सैंजूको भनाइ छ । वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडो याममा घाम लागेर न्यानो हुने भएकाले पर्यटकका लागि रोजाइको थलो बनेको कम्पनीका अपरेशन म्यानेजर सैंजूले बताउनुभयो ।

धार्मिक र पर्यटकीय पूर्वाधार, जुनसुकै ऋतुमा अनुकुल मौसम, बजारको कोलाहल र प्रदूषणबाट मुक्त स्वच्छ, शान्त वातावरणका कारण वसन्तपुर नेपालीको मात्र नभई भारत उत्तर प्रदेशका पर्यटकको पनि रोजाईको थलो बनेको उहाँले बताउनुभयो ।

केबलकारले पाल्पा तिनाउ –३ र बुटवल वडा नं ३ का बासिन्दालाई टिकटमा ५० प्रतिशत छुट तथा प्रति टिकट दुई पालिकालाई एक–एक प्रतिशत रकम कर बापत दिएको छ । यसबाट स्थानीय विकासमा पनि राम्रै योगदान भएको छ । अस्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।