• ९ मंसिर २०८१, आइतबार

अलैँचीको योगदान प्रदेश १ कै एक नम्बर

blog

छलफलमा सहभागी सरोकारवाला। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर २१ गते। कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा प्रदेश १ भरीका कृषि उत्पादनमध्ये अलैँचीको योगदान एक नम्बरको भएको भएको निष्कर्षसहित यसको उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको औँल्याइएको छ। 

बुधबार ताप्लेजुङमा आयोजित एक छलफलमा कम्युनिटी इङ्गेजमेन्ट एण्ड आउट रिच प्रालिले गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अलैँचीको योगदान उच्च अर्थात् एक नम्बरको भएको जानकारी गराइएको हो। 

क्षेत्रीय र स्थानीय आर्थिक वृद्धिका लागि अन्तर स्थानीय तह सहकार्यका बारेमा छलफलमा गर्दै प्रालिले तयार गरेको अध्ययन प्रतिवेदन प्रस्तुत गरिएको थियो। अध्ययन टोलीका उपनेता अनिरुद्ध न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै अलैँचीले कृषितर्फको कुल ग्राहस्थ उत्पादनमा विगत पाँच वर्षमा ५.९ प्रतिशतदेखि ७.९ प्रतिशतसम्म योगदान दिएको बताउनुभयो। यस्तै अलैँचीबाट प्रदेशको समग्र अर्थतन्त्रमा भने औसत २ प्रतिशतसम्म योगदान रहेको न्यौपानेले सुनाउनुभयो। 

जिडिपीमा योगदान र वृद्धिको अवस्थालाई आधार मानी उत्पादनका विभिन्न १३ वटा सेवा क्षेत्रबारे अध्ययन भएको उहाँको भनाइ थियो। आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म अलैँचीको औषत वार्षिक निर्यात चार अर्ब १६ करोड रुपियाँ बढी रहेको पाइएको छ। अलैँचीलाई प्रदेश १ को मात्र मुलुककै मुख्य निर्यात वस्तुका रूपमा रहेको छ।

न्यौपानेका अनुसार अध्ययन क्षेत्रमा कृषि क्षेत्र, उद्योग र सेवा क्षेत्रलाई अध्ययनको प्रमुख आधार बनाइएको थियो। कृषि क्षेत्रमा अन्नबालीतर्फ धान, मकै, गहुँ र कोदो, पशुपालनतर्फ गाई र भैँसी, तरकारी बालीतर्फ बन्दा, गोलभेँडा, काउली, नगदेबालीतर्फ आलु, मसला बालीतर्फ अलैँची र अदुवा तथा फलफूल उत्पादनतर्फ सुन्तला र केरालाई उत्पादन सेवा उपक्षेत्रको रूपमा लिइएको थियो। यी मध्ये आय र रोजगार वृद्धिको दृष्टिले जिडिपीमा अलैँचीको योगदान प्रदेशभरिकै अब्बल देखिएको उहाँले सुनाउनुभयो। 

अध्ययन टोलीमा संलग्न विज्ञ तथा त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका प्राध्यापक डा. अर्जुन बरालले अलैँचीको उत्पादन र उत्पादकत्व वृद्धिका लागि क्षेत्रगत सहकार्य अनिवार्य रहेको  निष्कर्ष सुनाउनुभयो। अलैँचीमार्फत जिडिपीमा भएको योगदान अतुलनीय रहेकोले यसलाई थप प्रभावकारी बनाउन उत्पादन र उत्पादकत्व वृद्धि अनिवार्य रहेको उहाँको भनाइ थियो। 

प्राध्यापक डाक्टर बरालले यसका लागि अलैँची उत्पादन हुने क्षेत्रका सरोकारवालाहरूको अनुभवको आदान–प्रदान तथा उत्पादन र उत्पादकत्व वृद्धिका लागि आधारमय गर्नु अनिवार्य रहेको अध्ययन अनुभव सुनाउनुभयो। अध्ययन टोलीका अनुसार अलैँची उत्पादकत्वका दृष्टिले प्राय सबै वर्ष स्थिर अवस्था रहेको छ। 

कृषि निर्देशनालयको तथ्याङ्क उद्धृत गर्दै बरालका अनुसार पूर्वी नेपालमा अलैँचीको उत्पादकत्व अधिकतम ०.५४ प्रति हेक्टरसम्म देखिएको छ। न्यूनतम उत्पादकत्व ०.५० हेक्टर सम्म रहेको छ। प्रदेश १ भरीका सबैभन्दा बढी अलैँची ताप्लेजुङमा त्यसपछि पाँचथर, इलाम, सङ्खुवासभा र खोटाङमा उत्पादन हुने गरेको अध्ययन टोलीले जनाएको छ।

प्रदेश १ भरीका १५ हजार ७२८ हेक्टरमा अलैँची लगाउन सकिने खेतीयोग्य जमिन भए पनि १४ हजार ७०५ हेक्टरमा मात्र खेती गरिएको अध्ययन टोलीले बताएको छ। उत्पादन र उत्पादकत्व वृद्धिका लागि अन्तर स्थानीय तह सहकार्य बढाउने, बालीमा देखिएका समस्या हटाउने र उत्पादकत्व वृद्धिका लागि स्थानीयता अनुसार बाली र स्याहारमा गुणस्तरीयता कायम गर्नुपर्ने सरोकारवालाको निष्कर्ष रहेको छ।