काठमाडौं, मंसिर २१ गते । भर्खरै सम्पन्न भएको निर्वाचनपछि बस्ने सङ्घीय संसद्को पहिलो बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै बस्ने भएको छ । सिंहदरबारभित्र बन्दै गरेको नयाँ सङ्घीय संसद् भवनको काम पूर्ण रूपमा सम्पन्न भइनसकेकाले बैठक सम्मेलन केन्द्रमै बस्ने सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ बन्दै गरेको सङ्घीय संसद् भवनको काम पूर्ण रूपमा सम्पन्न भइसकेको छैन । त्यसकारण अब बस्ने पहिलो बैठक बानेश्वरस्थित सम्मेलन केन्द्रमै बस्छ ।’ पहिलो बैठकमा सङ्घीय संसदका प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक संयुक्त रूपमा बस्नेछन् ।
वि.सं. २०६५ सालदेखि संसद् बैठक बानेश्वरमा नै बस्दै आएको छ । अब बस्ने सङ्घीय संसद्को बैठकको बसाई व्यवस्थापनको काम लगभग पूरा भएको धमलाको भनाइ छ । सिटहरूको व्यवस्थापन, रंगरोगन तथा प्राविधिक तर्फको सम्पूर्ण काम पूरा भएको धमलाले जानकारी दिनुभयो ।
‘पहिलो बैठकका लागि सङ्घीय संसदभित्र सिट व्यवस्थापन, रंगरोगन तथा अन्य प्राविधिक पक्ष सबै सकिएको छ,’ सहायक प्रवक्ता धमलाले भन्नुभयो, ‘संसद् भवन सांसदलाई पर्खिएर बसिरहेको छ ।’ अहिले बन्दै गरेको नयाँ सङ्घीय संसद् भवन आधुनिक प्रविधिको हुनेछ । सङ्घीय संसद् सचिवालयका दुई वटा भवन रहनेछन् ।
राष्ट्रिय सभा र प्रतिनिधि सभामा अडियो भिडियो सिस्टम, भिडियो कन्फरेन्स सिस्टम पनि रहनेछन् । भित्र प्रवेशका लागि चार वटा प्रवेशद्वार राखिनेछ । उत्तरबाट सांसदहरूलाई प्रवेशका लागि प्रवेशद्वार रहनेछ भने पूर्वबाट कर्मचारीका लागि छुट्टै प्रवेशद्वार रहनेछ । जहाँ क्यान्टिन, छपाइसम्बन्धी प्रेस रहनेछन् ।
सेक्युरिटी बिल्डिङ, अण्डरग्राउण्ड पार्किङ पनि रहनेछ । अण्डरग्राउण्ड पार्किङमा करिब सात सय वटा गाडी अट्ने धमला बताउनुहुन्छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुईतर्फ जानका लागि बीचमा सबैभन्दा अग्लो संरचना लबी पनि हुनेछ ।
यहाँ चार सय जना बस्न मिल्ने क्षमताको कक्ष रहनेछ । उक्त लबीबाट दायाँ गए राष्ट्रिय सभा पुगिनेछ भने बायाँ गए प्रतिनिधि सभा पुगिनेछ । दुई सय क्षमताको दुई वटा सुरक्षित हलहरू हुनेछन् ।
उहाँकाअनुसार सङ्घीय संसद् भवनमा तीनतले स्मार्ट पार्किङ्स्थलसमेत निर्माण गरिनेछ । त्यसैगरी, राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाबाट हुने विशेष सम्बोधनका लागि दुवै संसद्का सदस्यहरू र विशिष्ट पाहुनाहरूसमेत अटाउने एक हजार क्षमताको विशेष सभाहल रहनेछ ।
दिगो विकासलगायतका १७ वटा समितिका लागि छुट्टाछुट्टै कार्यालय र कक्ष रहनेछन् । नयाँ बन्दै गरेको सङ्घीय संसद् भवनको ७० प्रतिशत काम सम्पन्न भएको छ । अबको चैत्र महिनासम्म उक्त भवनको निर्माण सक्ने निर्माण कम्पनीको समय सीमा रहेको छ । तर, यो समयमा पनि निर्माण सकिने सम्भावना न्यून नै रहेको उहाँको भनाइ छ ।
यदि चैत्र महिनामै भवनको निर्माण कार्य सम्पूर्ण रूपमा पूरा भएको खण्डमा त्यसपछिका बैठकहरू भने नयाँ भवनमै बस्ने उहाँको भनाइ छ । यस्तै, नेपालको इतिहासमा पहिलो बैठक बसेको सिंहदरबारभित्रको पुरानो सङ्घीय संसद् भवन संरक्षणको योजना बनिरहेको उहाँले जानकारी दिनुभयो ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलासँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :