• ३ मंसिर २०८२, बुधबार

सडक मापदण्ड भित्रका घर टहरा हटाउन आग्रह

blog

रमेश विश्वकर्मा 

गुल्मी, मङ्सिर ३ गते। गुल्मीको गुल्मीदरबार गाउँपालिकाले मदन भण्डारी राजमार्ग अन्तर्गत सडक मापदण्ड भित्रका घर टहरा हटाउन स्थानीयलाई आग्रह गरेको छ। मदन भण्डारी राजमार्ग योजना कार्यालयले गुल्मीको रिडी–तम्घास सडक खण्डका घर टहरा र विभिन्न संरचना हटाउनका लागि पालिकामा पत्राचार गरेपछि पालिकाले उक्त निर्णयलाई कार्यान्यवन गर्न लागेको हो। 

सडक स्तरोन्नती गरी कालोपत्र गर्न सुरु गरेको मदन भण्डारी राजमार्ग योजना कार्यालयले स्थानीय पालिकामार्फत् सडक मापदण्ड भित्र रहेका घर टहरा र अन्य संरचना हटाई सडक निर्माणको कामलाई सहयोग गर्न आग्रह गर्दै आएको छ। 

कार्यालयको अनुरोधपछि गुल्मीदरबार गाउँपालिका–४ अन्तर्गतका सडक मापदण्ड भित्र रहेका घर टहरा तथा विभिन्न संरचना हटाउनका लागि सार्वजनिक रूपमा सूचना जारी गरेको छ। 

पालिकाले वडा नं‐४ को श्रीनगरदेखि रुन्खादहसम्म सडक मापदण्डभित्र पर्ने घर टहरा तथा संरचना समयमै नहटाउँदा निर्माण कार्यमा अवरोध सृजना भइरहेको जनाएको छ। वडा कार्यालयले बजार क्षेत्रका संरचना नहटाउँदा धुलो, प्रदूषण, व्यापार र जनस्वास्थ्यमा असर परेको, आवतजावतमा बाधा पर्ने जोखिम बढेको कारण १५ दिनभित्र स्वयं हटाई सहकार्य गर्न सम्बन्धित सबैलाई आग्रह गरेको वडाध्यक्ष देवीराम पोखरेलले जानकारी दिनुभयो। 

मदनभण्डारी राजमार्ग योजना कार्यालयद्वारा गुल्मीको रिडी‐तम्घास सडक खण्डमा हाल २५ किलोमिटर सडकमा स्तरोन्नति र कालोपत्र गर्ने काम भइरहेको छ।