• ११ असोज २०८१, शुक्रबार

नेमारको पुनरागमनसँगै लयमा ब्राजिल

blog

दोहा, मङ्सिर २१ गते । कतार विश्वकप फुटबल प्रतियोगितामा चोटका कारण दुई खेल खेल्न नपाएको झोँक नेमारले मङ्गलबार बिहान दक्षिण कोरियामाथि निकाल्नुभयो। नेमारको उत्कृष्ट प्रदर्शनको सहयोगमा ब्राजिलले दक्षिण कोरियालाई ४–१ ले सजिलै हराएर विश्वकपको क्वाटरफाइनलमा स्थान बनायो। सो खेलमा नेमारले गोल पनि गर्नुभयो। 

सर्बियाविरुद्धको पहिलो खेलमा नेमारलाई गोलीगाँठोमा चोट लागेको थियो। त्यसपछि ब्राजिलले स्विजरल्यान्डलाई बल्लतल्ल १–० ले हरायो भने क्यामरुनसँग १–० ले स्तब्ध भएको थियो। पछिल्ला दुई खेलमा नेमारबिना ब्राजिल सङ्घर्षरत र प्रभावहीन देखिएको थियो। तर नेमारको पुनरागमनसँगै ब्राजिल पुनः फरक टिमको रूपमा प्रस्तुत भएको छ। पूर्वाद्र्धमा नेमारले पेनाल्टीमा गोल गरी राष्ट्रिय टिमका लागि आफ्नो गोलसङ्ख्या ७६ पु-याउनुभएको छ। अब ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेभन्दा नेमार एक गोलले मात्र पछाडि हुनुहुन्छ।

नेमारले जितपछि सर्बियाविरुद्ध घाइते भएपछि विश्वकपमा खेल्न नपाउने डरले हरेक रात आफूले रोएर बिताएको जानकारी दिनुभयो। मेरो परिवारलाई थाहा छ, मैले यो समय कसरी कटाएँ। तर अन्त्यमा अहिले सबै ठीक भएको छ– उहाँले भन्नुभयो। नेमारले आफू चाँडै निको हुनुको श्रेय फिजियोथेरापीलाई दिनुभएको छ।

नेमार र ब्राजिलियाली टिमका लागि दक्षिण कोरियासँगको खेल भावनात्मक पनि रह्यो। क्यान्सरको उपचारार्थ अस्पतालमा रहनुभएका ब्राजिलियाली महान् फुटबलर पेलेको शरीरले प्रतिक्रिया दिन छोडेको रिपोर्ट आएपछि ब्राजिलका लागि सो खेल भावनात्मक बनेको हो। यद्यपि ८२ वर्षीय पेलेले सो खेल अस्पतालबाट हेर्ने भनी आफ्नो टिमको मनोबल उच्च पार्नुभएको थियो। नेमारले खेलपछि पेले लेखिएको ब्यानरसहित जितको खुसियाली मनाउनुभयो। त्यसपछि ब्राजिलियाली टिमले मैदानको बीच भागमा सोही ब्यानरसहित सामूहिक तस्बिर लिएको थियो। 

नेमारले आफ्नो पुनरागमन खेलको १३औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभएको हो। यस विश्वकपमा नेमारको यो पहिलो गोल भएको छ। सो गोलसँगै पेले र रोनाल्डोपछि नेमार ब्राजिललाई तीन फरक विश्वकपमा गोल गर्ने खेलाडी बन्नुभयो। यसअघि खेलको सातौँ मिनेटमा नै राफिनाको पासमा भिनिसियस जुनियरले गोल गरी ब्राजिललाई अगाडि पार्नुभएको थियो। खेलको २९औँ मिनेटमा रिचर्लिसनले तेस्रो तथा पूर्वाद्र्धमै भिन्सियसको पासमा लुकास पाक्वेटालो चौथो गोल गर्नुभयो। खेलको ७६औँ मिनेटका दक्षिण कोरियाका पाइक सिउङ होले लामो दूरीबाट बल गोलपोस्टमा छिराएर सान्त्वना गोल गर्नुभयो ।

दक्षिण कोरियाको भने सन् २००२ पछि पहिलो पटक क्वाटरफाइलनमा पुग्ने अभियान सफल हुन सकेन। दक्षिण कोरियाको हारसँगै कतार विश्वकपमा एसियाको चुनौती पनि समाप्त भएको छ। यसअघि आयोजक कतार, इरान र सउदी अरबको चुनौती समूह चरणमै सकिएको थियो भने दक्षिण कोरियासरह जापान र अस्ट्रेलिया प्रिक्वाटरफाइनलबाट बाहिरिएका थिए। 

जापान पेनाल्टीमा स्तब्ध

गोलरक्षक डोमिनिक लिभाकोभिचले पेनाल्टी सुटआउटमा तीन प्रहार विफल पारेपछि क्रोएसियाले सोमबार राति जापानलाई टाइब्रेकरमा ३–१ ले हराएर विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा पुगेको छ। निर्धारित र अतिरिक्त समयको खेल १–१ ले बराबरीमा सकिएपछि टाइब्रेकरमा जितहारको छिनोफानो भएको हो।

पेनाल्टी सुटआउटमा क्रोएसियाका गोलरक्षक लिभाकोभिच नायक बन्नुभयो। उहाँले ताकुमी मिनामिनो, काउरो मिटोमा र माया योसिडाको प्रहार बचाएर जापानलाई निराश बनाउनुभयो। जापान सन् २००२, २०१० र २०१८ मा पनि विश्वकपको प्रिक्वाटरफाइनलबाटै बिदा भएको थियो। यद्यपि अगाडि बढ्न नसके पनि जापानले जर्मनी र स्पेनलाई हराएर यस विश्वकपमा आफ्नो छवि उच्च पारेको छ। जापानको यी दुई जित विश्वकप फुटबल इतिहासकै सर्वाधिक स्तब्धकारी नतिजाको सूचीमा सामेल भएका थिए।

पछिल्लो संस्करणको फाइनलमा फ्रान्ससँग पराजित भएको क्रोएसिया यस पटक प्रिक्वाटरफाइनलबाट बाहिरिने सम्भावना थियो। खेलको ४३औँ मिनेटमा डेइजान माइडाको गोलबाट क्रोएसिया पछाडि परेको थियो। त्यसपछि जापान नै अर्को गोल गर्ने टिमको रूपमा प्रस्तुत भयो। खेलको ५७औँ मिनेटमा डेजान लोभरेनको क्रसमा इभान पेरिसिचले दर्शनीय हेड गोलसहित खेल बराबर गरेपछि मात्र क्रोएसिया खेलमा फर्केको हो। यस गोलसँगै पेरिसिच दस गोलसहित क्रोएसियाका लागि प्रमुख प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी बन्नुभएको छ।

क्रोएसियाले अब सेमिफाइनलमा पुग्न पाँच पटकको विजेता ब्राजिलविरुद्ध खेल्नेछ। एपी