• १० जेठ २०८१, बिहिबार

जापानलाई टाइब्रेकरमा हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

blog

प्रिक्वार्टरफाइनल खेलमा प्रतिस्पर्धा गर्दै जापान र क्रोएसियाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १९ गते । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अल जानोब स्टेडियममा सोमबार राति भएको प्रिक्वार्टरफाइनल खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३-१ गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा समेत दुवै टोलीबाट थप गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा क्रोएसिया विजयी भयो । निर्धारित समयमा सुरुवाती अग्रता जापानले लिएको थियो । जापानका लागि डाईजेन माएदाले गोलको खाता खोल्नुभयो । उहाँले ४३औं मिनेटमा माया योसिदाको पासमा पोस्ट नजिकबाट गोल गर्नुभएको हो ।

त्यसपछि ५५औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो । इभान पेरिसिकले डेजन लोभरेनको पासमा बराबरी गोल गर्नुभएको थियो । त्यसपछि निर्धारित ९० मिनेट र थप समयमा समेत गोल भएन । 

पेनाल्टीमा क्रोएसियाले तीन गोल गर्न सफल भयो । जापानले एउटा मात्र गोल गर्न सक्यो । जापानका तीनवटा पेनाल्टी प्रहारलाई क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले सजिलै बचाउनुभयो ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गर्नुभयो । मार्को लिभाजाको प्रहारलाई जापानका गोलरक्षकले बचाउनुभयो । 

यता जापानका ताकुमा असानोले मात्र गोल गर्नुभयो । ताकुमी मिनामिनो, माया योसिदा र कोरु मितोमाले गोल गर्न सक्नुभएन ।

क्रोएसियाले क्वार्टरफाइनलमा  ब्राजिल र दक्षिण कोरियाबीचको विजेतासँग खेल्नेछ । ब्राजिल र दक्षिण कोरियाको खेल आजै राति १२:४५ बजे हुनेछ । एजेन्सी