खोटाङ समाचारदाता
खोटाङ, मङ्सिर १९ गते । हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानको कात्तिकेमा कपास खेती फस्टाउँदै गएको छ। दुई वर्षअघि नगरपालिकाको अनुदानबाट सुरु भएको कपास खेती अहिले फस्टाउँदै गएको हो।
आर्थिक वर्ष २०७७/७८ मा १० लाख बजेट विनियोजन गरेर कपास खेतीलाई प्रवद्र्धन गर्न सुरु गरेको नगरपालिकाले अहिले पनि निरन्तरता दिँदै आएको छ। पुर्खाको पालामा हलेसी तुवाचुङ नगरपालिका क्षेत्रका धेरै ठाउँमा कपास खेती हुने गरेको थियो। कपासबाट खाँडीका कपडा उत्पादन गरेर बिक्रीसमेत गर्ने गरेको यस क्षेत्रका पुर्खाको भनाइ छ।
लोपोन्मुख बनेको कपास खेती र खाँडीका कपडाको संरक्षण र प्रवद्र्धन गर्नु नगरपालिकाको दायित्व रहेकाले बजेट विनियोजन गरेरै काम सुरु गरिएको नगरपालिकाका प्रमुख विमला राईले बताउनुभयो।
“म यस नगरको उपमेयर हुँदै गर्दा मेरै नेतृत्वमा कपास खेती प्रवद्र्धन कार्यक्रम सुरु गरिएको थियो। सुरुमा हामीले विभिन्न समूहमार्फत थोरै जग्गामा कपास खेती सुरु गरेका थियौँ। अहिले करिब ८० रोपनी जग्गामा कपास खेती भइरहेको छ।”
पछिल्लो समय रोजगारका लागि धेरै युवा विदेश जाने गरेका छन्, तर हाम्रो पुख्र्यौली पेसाबाट पनि हामीले जीविकोपार्जन गर्न सक्छौँ भन्ने सोचले पुख्र्यौली पेसालाई जोगाउँदै कृषकलाई सोही पेसाबाट आत्मनिर्भर बनाउने उद्देश्यले हामीले यस कार्यक्रमलाई प्राथमिकता दिएर अघि बढाइरहेका छौँ, नगरप्रमुख राईले भन्नुभयो।
कपास खेतीका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु. २० लाख बजेट विनियोजन गरेको छ। नगरपालिका–७ स्थित साबिकको ६ र ९ नम्बर वडामा कपास खेती गरिएको छ। त्यहाँका करिब ६० घरपरिवारले कपास खेती गरिरहेका छन्। सुरुमा कपास खेती गर्न नजान्दा रोग लागेर समस्या भए पनि अहिले सहज भएको कपास खेती गरिरहनुभएका गङ्गा राईले बताउनुभयो।
यस्तै कपास उत्पादन गरेर सिरानी, डस्ना, सिरकलगायतका सामग्री बनाइरहेको कुरा जुना राईले बताउनुभयो। विस्तारै खाँडीको कपडा बुन्ने योजना रहेको उहाँहरूको भनाइ छ। नगरपालिकाले पनि खाँडीको कपडा बुन्ने तालिम आयोजना गर्ने योजना बनाएको नगरप्रमुख राईले बताउनुभयो।
स्थानीय जुनासरी राईले भने अहिले पनि आफैँले उत्पादन गरेको कपासबाट खाँडीको कपडा बुनिरहनुभएको छ। राईको घरमा पुग्दा खाँडीको तान बुनिरहेको सहजै देख्न सकिन्छ। दौरा सुरुवाल पुग्ने कपडा प्रतिथान २० हजारमा बिक्री हुने राईले बताउनुभयो।
उहाँले भन्नु्भयो, “पहिले हाम्रो पालामा खाँडीको कपडाको लुगा सिलाउने चलन थियो, पछि अन्य कपडा आएपछि सबैले भुले, फेरि अहिले नयाँ पुस्ताले यसलाई मन पराउन थालेका छन्, धेरैले माग गर्छन् तर के गर्नु ७९ वर्ष पुगेँ, अब त कान सुन्न, आँखा देख्न छाडेँ, कपडा बनाउन झ्याउ हुन्छ, त्यही पनि यसो दुःख गर्दै छु।”
यस्तै त्रि–धार्मिकस्थल हलेसी मन्दिर नजिकै रहेकाले कपासको बजारीकरणको चिन्ता नरहेको महावेदस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरी बताउनुहुन्छ। स्थानीयले जति कपास उत्पादन गरे पनि मन्दिरमा आवश्यक विभिन्न सामग्री निर्माण गर्न खपत हुने गिरीको भनाइ छ।