• १२ असोज २०८१, शनिबार

लयमा फर्कियो पुष्प व्यवसाय

blog

फाइल तस्बिर

काठमाडौं, मङ्सिर १८ गते । कोरोना महामारीको त्रास कम भएसँगै तीन वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । 

अहिले महामारीको त्रास कम छ । मठमन्दिर, पार्टी प्यालेस पूर्ववत् रूपमा नै सञ्चालनमा छन् । विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालनमा आउँदा फूलको व्यापार पहिले जसरी नै हुन थालेको छ । त्यति मात्रै होइन यसवर्ष गत वैशाखमा स्थानीय तहको निर्वाचन र यही मङ्सिर ४ गते भएको आम निर्वाचनका कारण पनि यसवर्ष उल्लेख्य मात्रामा फूलको कारोबार भएको बताइएको छ ।

विगत तीन वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । एक करोडसम्मको नोक्सानी सामना गर्नुपरेको फ्लोरी कल्चर एसोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिनुभयो । 

कात्तिकदेखि फागुनसम्म विभिन्न चाडपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । पछिल्ला वर्षमा सयपत्री फूलमा पनि देश आत्मनिर्भर हुँदै गएको छ । 

मुख्य गरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही सयपत्री फूलको मालामात्रै भारतबाट ल्याउने गरिएको छ । अन्य समयमा प्रयोग हुने फूलमा भने देश आत्मनिर्भर भइसकेको अवस्था छ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलान्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । नेपालमा हाल व्यवसायिकरूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको जनाइएको छ ।

नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको खेती गर्दै आएका छन् । महामारीकै कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यसवर्ष लक्ष्यमा पुग्न समस्या नहुने विश्वास एसोसिएसनले लिएको छ ।

नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । रासस