• १२ असोज २०८१, शनिबार

शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम

blog

शिक्षक शिक्षिकालाई आयोजना गरिएको आत्मरक्षा तालिममा सहभागी शिक्षक शिक्षिका । तस्बिर – कमल शर्मा

कमल शर्मा

दैलेख, मङ्सिर १८ गते । विद्यालयमा अध्ययनरत किशोरीहरूलाई लैङ्गिक हिंसाबाट बच्न सिकाउने उद्देश्यले शिक्षक शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘लैङ्गिक हिंसाविरुद्ध आव्हान: आत्मरक्षाको तालिम हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक सङ्गठन महिला विभागले विद्यालयका शिक्षक र शिक्षिकालाई आत्मरक्षा तालिम प्रदान गरेको छ । 

राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष पुष्पा थापाले जिल्लाको ११ स्थानीय पालिकाबाट दुई जना शिक्षिका र एक जना शिक्षक प्रशिक्षार्थी सहभागिता गराएर आत्मरक्षा तालिम प्रदान गरिएको बताउनुभयो ।

उहाँले लैङ्गिक हिंसाको न्यूनीकरण गर्नका लागि किशोरीहरूलाई कसरी सुरक्षित बनाउने भन्ने विषयमा शिक्षक शिक्षिकालाई तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले विद्यालयमार्फत विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सशक्त बनाउने र लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

आत्मरक्षा तालिमका प्रमुख प्रशिक्षक कर्णाली प्रदेश खेलकुद परिषद् सदस्य हेमा खड्काले किशोरीहरूले आत्मरक्षा तालिम लिएको खण्डमा आफ्नो आत्मरक्षा गर्न सकिने बताउनुभयो । उहाँले कसैले हिंसा गरेको खण्डमा किशोरीले त्यसको प्रतिकार गरी हिंसाबाट बच्न प्रत्येक विद्यालयमा यस्ता कार्यक्रम गर्नु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘किशोरीहरूलाई सशक्त बनाउन स्थानीय पालिका र सम्बन्धित विद्यालय जिम्मेवार बन्नुपर्ने हुन्छ ।

जिल्लाको भगवती माई गाउँपालिकाका प्रधानाध्यापक कमलप्रसाद अधिकारीले आत्मरक्षा तालिम लिएपश्चात् आफ्नो विद्यालयका किशोरीहरूलाई उक्त तालिम सिकाउने बताउनुभयो । उहाँले प्रत्येक हप्ता एक दिन कार्यक्रमको आयोजना गरी उक्त तालिम सिकाउने बताउनुभयो । 

जिल्लामा पछिल्लो समय किशोरीहरूलाई आत्मरक्षा तालिम प्रदान गरे पनि लैङ्गिक हिंसाविरुद्धका उजुरीमा कमी आउन नसकेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले लैङ्गिक हिंसाविरुद्ध समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गरे पनि चालु आर्थिक वर्षको चार महिनामा जबरजस्ती करणीका चार मुद्दा, बहुविवाहका दुई मुद्दा, अभद्र व्यवहारका पाँच मुद्दा, प्रहरीमा परेको बताउनुभयो ।