• १२ असोज २०८१, शनिबार

लुम्बिनी प्रदेशको राजधानी सार्न हतार नगर्न दलहरुको ध्यानाकर्षण

blog

श्यामशंकर पाण्डे/कपिल ज्ञवाली 

लुम्बिनी, मङ्सिर १८ गते । प्रमुख राजनीतिक दलहरूले लुम्बिनी प्रदेशको राजधानी सार्ने कामका लागि हतार नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

पूर्वाधार निर्माण नहुँदै लुम्बिनी प्रदेश सरकारले प्रदेशको राजधानी अस्थायीबाट स्थायी सदरमुकाम लैजान हतार गरेको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) रुपन्देहीले छुट्टाछुट्टै प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका हुन् । काम चलाउ सरकारले राजधानी सार्ने तयारी गरेको भन्दै ती राजनीतिक दलहरूले ध्यानाकर्षण गराएको हो । 

कांग्रेस रुपन्देहीले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्नसमेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा कामकाजमा पर्न सक्ने असरतर्फ सचेत हुनुपर्ने उल्लेख गरेको छ । 

‘तत्काल प्रदेश सभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद्, विषयगत समितिलगायतका संरचनाको नियमित सञ्चालन र व्यवस्था गर्न, प्रदेश सभा र सरकारसँगै जाने सभासद् र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा सरकारको सेवा प्रवाहमानसमेत प्रतिकुल असर पर्ने देखिएकाले सदरमुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।  

यस्तै, नेकपा (एमाले) रुपन्देहीले पनि प्रेस विज्ञप्ति जारी गर्दै, दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्न हतार नगर्न आग्रह गरेको हो । ‘काम चलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामानसमेत राजधानी सार्न हतार गरिरहेको छ । नयाँ प्रदेश सभा निर्वाचित भइसकेको अवस्थामा नयाँ सरकारले काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।