• १२ असोज २०८१, शनिबार

मालढुङ्गा–बेनी सडक अलपत्र

blog

मालढुङ्गा –बेनी सडकमा ओहोरदोहर गर्दै सवारीसाधन । तस्विर– ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, मङ्सिर १८ गते । म्याग्दी र मुस्ताङका लागि मध्यपहाडी लोकमार्ग पोखरा – बागलुङ सडक हुँदै गुडेका सवारीसाधन पर्वतको मालढुङ्गा पुगेर रोकिन्छन् र दायाँ मोडिन्छन् । २३ वर्ष अघि ट्र्याक खुलेको यो सडकको स्तरोन्नति गर्न राज्यको प्राथमिकतामा अहिलेसम्म परेको छैन  ।

यही सडक भएर देशका प्रधानमन्त्रीदेखि मन्त्री र ठूला दलका नेताहरू धेरैपटक ओहोरदोहोर गर्नुभयो । दैनिक रूपमा म्याग्दी र मुस्ताङको भ्रमणमा निस्केका सयौँ सवारीसाधनहरू गुड्ने यो सडक यतिखेर ठेकेदारले काम गर्न छाडेपछि अलपत्र छ ।  

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा –बेनी सडक खण्डको  स्तरोन्नतिसहित कालोपत्रे योजनाको ठेक्का लिएको ठेकेदार लामो समयसम्म पनि काममा नफर्किएपछि सडक अलपत्र परेको हो । जीर्ण र अस्तव्यस्त सडकका कारण सर्वसाधारणहरूले सास्ती भोग्नुपरेको छ । 


मालढुङ्गादेखि बेनीसम्म जम्मा १३ किलोमिटर सडक पार गर्न डेढ घण्टा समय लाग्ने गरेको छ । वर्षाका समयमा सडकमाथिबाट आएको पहिरो, ठुल्ठूला पानीका पोखरी, खाल्टाखुल्टी र अलपत्र अवस्थामा छाडिएका निर्माण सामग्रीहरूका कारण सवारीसाधन आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । 

राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजना अन्तर्गतको मालढुङ्गा–बेनी सडक खण्डको १३ किलोमिटर सडक स्तरोन्नति योजनाको २०७७ चैतमा ५२ करोड ८६ लाख ३१ हजार रुपियाँमा एपेक्स –खड्का –कृष्ण जेभीसँग ठेक्का सम्झौता भएको थियो । अघिल्लो वर्षदेखि सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सने पाँच महिना यता सडक योजना अलपत्र पारेर छाडेको छ । 


पछिल्लो समय ठेकेदारकाबीच एकआपसमा विवाद र असमझदारी बढेपछि योजना निर्माण रोकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर मन्दा पन्तले बताउनुभयो । 

ठेकेदारसँग आयोजनाले छलफल गरेको छ इन्जिनियर पन्तले भन्नुभयो ‘एकहप्ता भित्र सडक मर्मत थाल्नुका साथै मजदुर र उपकरणसहित कार्यस्थलमा परिचालन हुने ठेकेदार कम्पनीले प्रतिबद्धता व्यक्त गरेको छ ।’

ठेकेदारले प्रतिबद्धता गरेको समयावधिमा परिचालन नभए आयोजनाले अन्य कारबाहीको प्रक्रिया थाल्ने उहाँले बताउनुभयो । उहाँकाअनुसार अहिलेसम्म २४ प्रतिशत भौतिक प्रगति भएको छ । 

६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर फराकिलो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गरिने योजनामा छ ।