• १३ साउन २०८१, आइतबार

न्यानोसँगै स्टाइलिस फेसन

blog

काठमाडौँ, मङ्सिर १८ गते । एक समय थियो, जाडो मौसममा शरीरलाई न्यानो पार्न जस्तोसुकै लुगा लगाइन्थ्यो । अहिले भने मानिसको रोजाइ, सोचाइ, चाहना र समय परिवर्तन भएको छ । विशेष गरी युवा पुस्तालाई जाडोमा न्यानो कपडा भएर मात्र पुग्दैन । हेर्दा सुन्दर र आकर्षक देखिनु पनि उनीहरूको प्राथमिकतामा पर्ने गर्छ । चिसोबाट जोगिनुका साथै साथीभाइमाझ होस् वा कार्यालयमा, ‘स्टाइलिस लुक’ युवा पुस्ताको चासोमा पर्छ । जाडोमा न्यानो हुने कपडा लगाउने मात्र होइन, हर समय फेसनेबल भएर हिँड्न रुचाउने फेसनपारखीका लागि अहिले धेरै उपाय रहेका फेसन डिजाइनरहरू बताउँछन् ।

“मलाई त जाडोमा पनि चिटिक्क भएर हिँड्न मन लाग्छ,” न्युरोडमा जाडोको सपिङ गरिरहँदा भेटिएकी प्रतिभा पोखरेल भन्नहुन्छ, “न्यानो पनि होस् र स्टाइलिस पनि देखियोस् भनेर फेसनेबल पहिरनको खोजीमा आएकी हु“ ।” पोखरेलजस्तै मौसमअनुसार फेसनमा चाख राख्ने धेरै युवती काठमाडौँका विभिन्न सपिङ सेन्टरमा भेटिन्छन् ।

बानेश्वरस्थित गरिमा बुटिककी सञ्चालक तथा फेसन डिजाइनर शान्ति प्रसाई आफूले लगाएको पहिरनअनुसार रङ मिलाएर टोपी, मफलर र पन्जा लगाउँदा आकर्षक देखिने बताउनुहुन्छ । “जाडोमा हाइनेकबाहिर पंचु वा डिजाइनर जम्पर लगाउँदा पनि राम्रो देखिन्छ । यसले मोटो र भद्दा शरीर भएकाको शरीर ढाकेर स्टाइलिस लुक दिन सहयोग पु-याउँछ,” उहाँ भन्नुहुन्छ । 

गर्मीभन्दा जाडो महिनामा कपडाको व्यापार राम्रो हुने कपडा व्यापारी धीरज श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गर्मीका कपडाभन्दा जाडोका कपडा महँगा हुन्छन् तैपनि मानिसहरू किन्छन् । अहिले बाक्लाभन्दा पनि पातला तर न्यानो हुने डाउन ज्याकेट, फेदर ज्याकेट, पंचु र लङ आउटर कोट धेरैले रुचाएका छन् ।” 

नेपाल उल हाउस भोटाहिटीका प्रोप्राइटर ज्ञानेन्द्ररत्न तुलाधर भने युवा पुस्तामा स्वेटरको फेसन निकै लोकप्रिय बन्दै गएको बताउनुहुन्छ । धेरै युवाले स्वेटर लगाउन थालेका छन् । स्वेटरमा मफलर लगाउँदा राम्रो हुने भएकाले यस पटक यो फेसनमा छ । 

एक हजारदेखि चार/पाँच हजार रुपियाँसम्म पर्ने स्वेटर बजारमा पाइन्छ । ऊनका साथै पस्मिना र कटनका स्वेटर धेरैले रुचाउने जानकारी तुलाधर दिनुहुन्छ । 

जाडो मौसममा परम्परागत लुगाको फेसन पनि निकै बढेको फेसन डिजाइनरहरू  बताउँछन् । नेपाली कपडाका विभिन्न डिजाइनका लुगा लगाउँदा धेरै राम्रो देखिने फेसन डिजाइनर अस्मिता कार्की बताउनुहुन्छ । खद्दर, ढाकाको ब्रेजर, कुर्ता आदि पनि अहिले ग्राहकको रोजाइमा परेको उहाँको भनाइ छ । 

जाडो मौसममा कस्तो भित्री वस्त्र लगाउने भन्ने चिन्ता पनि सबैलाई हुन्छ । यस्ता कपडा लगाउनु भनेको जाडोबाट जोगिनु मात्र होइन, फेसनमा रमाउनु पनि हो । भित्री कपडा न्यानो र कसिलो भयो भने बाहिरबाट उकुसमुकुस हुने गरी बाक्लो स्वेटर वा ज्याकेटहरू लगाइरहनु पर्दैन । हल्का र छरितो कपडा बाहिरबाट लगाउँदा हिँडडुल गर्न सहज हुन्छ । 

नेपाली बजारमा धेरै किसिमका भित्री पहिरन उपलब्ध छन् । जाडो मौसम सुरु हुनासाथ यस्ता कपडाको माग बढ्छ । ठूला व्यापारिक मल वा कम्प्लेक्सहरूमा ब्रान्डेड भित्री पहिरनका छुट्टै पसलहरू सञ्चालनमा छन् । थर्मल (थर्मकोट), मोजा, हाइनेक, स्टकिङ, नाइट गाउनजस्ता पहिरन जाडोमा धेरै बिक्री हुन्छन् । पसिना नगन्हाउने तथा एलर्जीको समस्या नहुने भएकाले फेसनेबल पुस्ताले ब्रान्डेड पहिरन बढी रुचाउने व्यवसायीहरू बताउँछन् ।