• १२ चैत २०८२, बिहिबार

‘बखान’ कृतिलाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

blog

नारायणगढ, चैत १२ गते । चितवनको इतिहासलाई आधार बनाएर लेखिएको कृति ‘बखान’ लाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ।

साहित्य संगम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष ‘बखान’ उपन्यासका लेखक तथा पत्रकार बसन्त पराजुली लाई प्रदान गर्न लागिएको हो।

साहित्य संगमका अध्यक्ष शशिकिरण रेग्मी ले आगामी शनिबार एक कार्यक्रमबीच पुरस्कार वितरण गरिने जानकारी दिनुभयो। पुरस्कारअन्तर्गत २० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिनेछ।

प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित उक्त उपन्यासमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। अध्यक्ष रेग्मीका अनुसार चितवन सहिदहरूको रगतले सिंचित भएको भूमि भएकाले सोही पृष्ठभूमिमा आधारित ‘बखान’ यस वर्षको पुरस्कारका लागि छनोट गरिएको हो।

वि.सं. २०६४ सालमा स्थापना भएको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कारबाट यसअघि १२ जना स्रष्टा सम्मानित भइसकेका छन्।

पराजुलीका ‘कुमाता’, ‘मोम्चो’ तथा अंग्रेजी कथासंग्रह ‘ड्रिमी आइज’ प्रकाशित छन्। झन्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय उहाँ हाल नेपाल पत्रकार महासंघ चितवन का अध्यक्ष हुनुहुन्छ।