• १२ असोज २०८१, शनिबार

स्थानीय तहका चार पूर्वप्रमुख प्रदेश सभामा

blog

मुना हमाल

सुर्खेत, मङ्सिर १७ गते । स्थानीय तहको नेतृत्व गरेका केही जनप्रतिनिधि कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। मङ्सिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा यसअघि स्थानीय तहको नेतृत्वमा रहेका चार नेता प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। 

कर्णाली प्रदेशको प्रत्यक्षतर्फ २४ निर्वाचित सदस्यमध्ये चार जनाले अघिल्लो पटक स्थानीय तहको नेतृत्व गरेका छन्। चार जनामध्ये दुई जना पूर्वजिल्ला समन्वय समिति प्रमुख र दुई जना पूर्वनगरपालिका प्रमुख रहेका छन्। सल्यानको प्रदेश सभा (ख)बाट सुरेश अधिकारी निर्वाचित हुनुभएको छ। उहाँ शारदा नगरपालिकाका पूर्वप्रमुख हुनुहन्छ। त्यस्तै दैलेखको प्रदेश सभा (क)बाट घनश्याम भण्डारी निर्वाचित हुनुभएको छ। उहाँ दुल्लु नगरपालिकाका पूर्वप्रमुख हुनुहुन्छ। 

यसअघि जिल्ला समन्वय समितिको नेतृत्व गर्नुभएका रुकुमपश्चिमका पूर्वजिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा र डोल्पाका पूर्वजिल्ला समन्वय समिति प्रमुख शेरबहादुर बुढा पनि प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ। उहाँले स्थानीय तहमा रहेर जनताको आवश्यकताका आधारमा ऐन कानुन निर्माणमा अनुभव लिइसकेकाले प्रदेशका नागरिकको जनजीविकाका सवालसँग जोडिएका ऐन कानुन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

नवनिर्वाचित प्रदेश सभा सदस्य घनश्याम भण्डारीले स्थानीय तहमा काम गरेको अनुभवले प्रदेश सभामा रहेर आफ्नो भूमिकालाई प्रभावकारी बनाउने बताउनुभयो। प्रत्यक्ष जनताको जनजीविकासँग जोडिएका सवालमा ऐन कानुन बनाउन आफ्नो महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ। प्रदेश सरकार खारेज हुनुपर्छ भन्ने आवाज उठिरहँदा प्रदेश सरकारको आवश्यक छ भनेर औचित्य पुष्टि हुने गरी काम गर्ने उहाँले बताउनुभयो।

यस्तै प्रदेश सभा सदस्य सुरेश अधिकारीले पनि जनताको आवश्यकतासँग जोडिएका ऐन कानुन बनाउन र कर्णालीको समृद्धि र विकासका लागि आफ्नो भूमिका रहने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “म नगरप्रमुख हुँदा नगरवासीको समस्या, उनीहरूको आवश्यकतामा रहेर नीति, नियम र कानुन बनाउनुका साथै विकास र समृद्धिका लागि काम गरेँ।