• १२ असोज २०८१, शनिबार

अठचालीस वर्षपछि फर्काइयो बुद्ध मूर्ति

blog

बनेपा समाचारदाता

काभ्रेपलाञ्चोक, मङ्सिर १७ गते । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–८ बाट करिब ४८ वर्ष पहिले हराएको शाक्यमुनि बुद्धको मूर्ति पुनः बनेपा फर्काइएको छ। पुरातत्व विभाग र बनेपा नगरपालिकाको पहलमा राष्ट्रिय सङ्ग्रहालयमा राखिएको उक्त मूर्तिलाई ४८ वर्षपछि पुनः बनेपा ल्याइएको हो। २०३१ सालमा बनेपा नगरपालिका–८, बहीटोलबाट शाक्यमुनि बुद्धको मूर्ति हराएको थियो। 

२०३१ सालमा हराएको उक्त मूर्ति २०३५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेला परेको थियो। विमानस्थलमा फेला परेको उक्त मूर्ति तत्कालीन अञ्चलाधीशको रोहवरमा राष्ट्रिय सङ्ग्रहालयमा राखिएको बहीबहा ज्ञानमाला भजन खलःका अध्यक्ष नरेन्द्रराज श्रेष्ठले बताउनुभयो। श्रेष्ठले भन्नुभयो, “तत्कालीन समयमा मूर्ति रहेको मन्दिर सुरक्षित नभएको र उक्त मूर्ति ल्याउन खासै पहल भएन । जनप्रतिनिधि आएपछि पुरात्व विभाग, नगरपालिका र भजन खलःको संयुक्त पहलमा मूर्तिलाई साबिकको स्थानमा ल्याएर राख्न सफल भयौँ ।” २०७२ सालको भूकम्पले क्षति भएको शाक्यमुनि राखिएको साबिकको मन्दिर पुरातत्त्व विभागको एक करोड रुपियाँ लागत जीर्णोद्धार गरिएको उहाँले बताउनुभयो । 

“मन्दिरको जीर्णोद्धारपछि मूर्तिलाई सुरक्षित रूपमा राख्न सकिने भएपछि पुरातत्त्व विभागको पहलमा मूर्ति बाजागाजासहित बनेपा ल्याएर प्राणप्रतिष्ठा गर्ने काम ग¥यौँ,” अध्यक्ष श्रेष्ठले थप्नुभयो। 

राष्ट्रिय सङ्ग्रहालयबाट बनेपा ल्याएको मूर्तिलाई बनेपाको पुरानो बजार परिक्रमा गरिएको थियो। बनेपा फर्काइएको शाक्यमुनि बुद्धको मूर्तिको सुरक्षाका लागि मन्दिरमा सेन्सर लकसहित सीसी क्यामराको व्यवस्था गरिएको छ। १७औँ शताब्दीमा अष्टधातुबाट निर्माण भएको शाक्यमुनि बुद्धको मूर्ति करिब ७० किलोग्राम तौलको छ।