• १२ असोज २०८१, शनिबार

पाँच वर्षमा पनि बनेन प्रदेश सभा भवन

blog

राममणि दाहाल

हेटौँडा, मङ्सिर १७ गते । पाँच वर्षसम्म पनि प्रदेश सभाको भवन निर्माण हुन नसक्दा बागमती प्रदेश सभाको दोस्रो कार्यकालको सुरुका बैठक साँघुरो भवनमा नै सञ्चालन हुने भएको छ। 

देश सङ्घीय संरचनामा गए पनि गठन भएको प्रदेश सभाको पहिलो पाँचवर्षे अवधिमा समेत प्रदेश सभा भवन निर्माण सम्पन्न नभएका कारण प्रदेश सभाको दोस्रो कार्यकालको काम पनि साँघुरो भवनबाटै गर्नुपर्ने बाध्यता सिर्जना भएको हो।

प्रदेश सभाको आफ्नै भवन र हलको अभावमा प्रदेश सभा बैठक र प्रदेश सभा सचिवालय हेटौँडा उपमहानगरपालिका–१० स्थित तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयको साँघुरो भवनमा सञ्चालन हुँदै आएको छ। प्रदेश सभाको नयाँ भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीले तोकिएको समयमा काम पूरा नगरेका कारण पुरानै अव्यवस्थित र साँघुरो भवनमा प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सुरु गर्नुपर्ने बाध्यता रहेको छ।

बागमती प्रदेशको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले गत आइतबार सम्पन्न भएको प्रदेश सभाको निर्वाचनपछि गठन हुने प्रदेश सभाको पहिलो अधिवेशन नयाँ भवनमा बस्न नसक्ने जानकारी दिनुभयो। उहाँले नयाँ भवन तोकिएको समयमा पूरा नभएको र निर्माणाधीन अवस्थामा रहेकोले पुरानै भवन र संरचनामा प्रदेश सभाको दोस्रो निर्वाचनपछिको प्रदेश सभाको अधिवेशन गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। प्रदेश सभाको पहिलो कार्यकालको सुरुवातदेखि नै प्रदेश सभाका सदस्यले प्रदेश सभा बैठक, राजनीतिक दलहरूको संसदीय दलको कार्यालय र प्रदेश सभाको सचिवालय सञ्चालन गर्न पर्याप्त नभएको, अव्यवस्थित र साँघुरो भएको भन्दै नयाँ भवन निर्माण गर्न माग गर्दै आएका थिए। 

प्रदेश सभाका सदस्यले अघिल्लो कार्यकालमा बसेको १० वटा अधिवेशनमध्ये अधिकांश अधिवेशनका बैठकमा प्रदेश सभा भवनमा सर्प आउने, लामखुट्टे लाग्नेलगायत साँघुरो र अव्यवस्थित भएको भन्दै नयाँ भवन बनाउन मागसहितको आवाज उठाउँदै आएका थिए। तत्पश्चात् २०७७ मङ्सिर १० गते प्रदेश सभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा भवनको शिलान्यास गर्नुभएको थियो।

२५० जना क्षमताको निर्माणाधीन प्रदेश सभा हल प्रदेश सरकारको चार करोड ३७ लाख २४ हजार ७८७ रुपियाँको लागतमा १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको थियो। बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन कार्यालय मकवानपुरमार्फत निर्माण भइरहेको प्रदेश सभा भवन गत वैशाखमा निर्माण सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले समयमा पूरा गर्न नसकेपछि म्याद थप गरिएको छ। कार्यालयका प्रमुख घनश्याम श्रेष्ठले प्रदेश सभा भवनलाई वातानुकूलित बनाउन जडान हुने उपकरण एयरकन्डिसनर (एसी)लगायतका उपकरण आयातमा भएको ढिलाइका कारण भवन निर्माणमा ढिलाइ भएको भन्दै २०८० जेठ मसान्तसम्मका लागि म्याद थप गरिएको जानकारी दिनुभयो।