• ५ जेठ २०८१, शनिबार

बेल्जियम र जर्मनीलाई जित्नै पर्ने दबाब

blog

जापानविरुद्धको खेलमा प्रतिस्पर्धा गर्दै जर्मनीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर १५ गते । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (बिहीबार) राति समूह ‘ई’ र ‘एफ’ को दुई दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । 

समूह ‘एफ’ को अन्तिम खेलमा राति ८:४५ बजे बेल्जियम र क्रोएसिया तथा क्यानडा र मोरोक्कोबीच प्रतिस्पर्धा हुनेछ । यस समूहबाट क्यानडा बाहिरी सकेको छ । तीन टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ । बेल्जियमलाई अघिल्लो चरणमा पुग्न जित्नै पर्ने बाध्यता छ । दुवै खेल बराबरीमा सकिएमा क्रोएसिया र मोरक्कोले नकआउट चरणमा स्थान बनाउनेछन् । 


विश्वकपबाट बाहिरिसकेको क्यानडालाई हराउँदै मोरोक्को अगाडि बढ्ने दाउमा छ । क्यानडाका लागि अन्तिम खेल प्रतिष्ठाको लडाई हुनेछ । यदि बेल्जियम र मोरोक्कोले जित निकालेको खण्डमा साबिक विजेता क्रोएसिया समूह चरणबाटै घर फर्कनु पर्नेछ । अहिले दुई खेलबाट क्रोएसिया र मोरोक्कोको समान चार चार अङ्क छ । तेस्रो स्थानमा रहेको बेल्जियमको दुई तथा अन्तिममा रहेको क्यानडा अङ्कविहीन छ । 

यसैगरी समूह ‘ई’ अन्तर्गत राति १२:४५ बजे हुने समूह चरणको अन्तिम खेलमा जर्मनी र कोस्टारिका तथा स्पेन र जापानबीच प्रतिस्पर्धा हुँदैछ । यस समूहमा चारवटै टोलीको नकआउट चरणमा पुग्ने सम्भावना छ । जर्मनीलाई अघिल्लो चरणमा पुग्न आज जित्नै पर्ने दबाब छ ।

यदि दुवै खेल बराबरीमा सकिएमा स्पेन र जापान अगाडि बढ्नेछ । अहिले समूहको शीर्षस्थानमा रहेको स्पेनको दुई खेलबाट चार अङ्क छ । जापान र कोस्टारिकाको तीन तीन तथा अन्तिममा रहेको जर्मनीको एक अङ्क छ । जर्मनीलाई हराएमा कोस्टारिकाले नकआउट चरणमा स्थान बनाउनेछ । 



विश्वकपमा समूह चरणको खेल जारी रहँदा १० टोलीले नकआउट चरणमा स्थान बनाइसकेका छन् । अन्तिम १६ मा पुग्नेमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल, समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अमेरिका समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड, समूह ‘डी’ बाट फ्रान्स र अस्ट्रेलिया छन् ।

समूह ‘जी’ मा रहेको ब्राजिल र समूह ‘एच’ मा रहेको पोर्चुगलले एक खेल अगावै अन्तिम १६ मा स्थान बनाइसकेको छ । एजेन्सी