• १३ असोज २०८१, आइतबार

स्याङ्जा–२ को मतगणना केहीबेरमा सुरु हुँदै

blog

स्याङ्जामा सर्वदलीय बैठकका सहभागीहरु । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ,मङ्सिर १४ गते । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ को मतगणना राती ९ बजेबाट शुरु हुने भएको छ । 

आज बसेको बैठकले सहमतीकै आधारमा राती ९ बजेबाट मतगणना शुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । 

गत मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि विवादका कारण मतगणना शुरु हुन सकेको थिएन । 

निर्वाचन आयोगले स्याङ्जाको निर्वाचन क्षेत्र नं. २ मा पुनः मतदान नगर्ने निर्णय गरेको थियो भने मतगणना गर्न  निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । 

आयोगको निर्देशनपछि निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ मा बसेको सर्वदलीय बैठकले राती ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको हो । 

बैठकमा प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्री, मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवाली, पत्रकार महासङ्घका अध्यक्ष श्रीकृष्ण सिग्देल नेपाली कांग्रेसका कार्यबाहक सभापति केदार काफ्ले, नेकपा (एमाले) का जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरु सहभागी भएका थिए । लामो समय आन्दोलनरत दलका प्रतिनिधि एकै ठाउँमा भेट भएका हुन् ।  

विवादका बीच मतगणना शुरु हुन लागेपछि वालिङमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । 

चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउँदै पुनः मतदानको माग गर्दै आएको थियो भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो ।

दुवै दलले मतदान भएको दोस्रो दिनबाट नै सडकमा धर्ना दिँदै आएका थिए । चापाकोट नगरपालिका वडा नम्बर ३,४ र ५ को दिसिङकोट, राममन्दिर, दिनदयालु, चिठ्ठी पोखरी बुथमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेर मतगणना हुन दिएको थिएन ।

स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्माकुमारी अर्याल र स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । 

स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदातामध्ये ७० हजार एक सय ९१  मत खसेको छ ।